
काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह ‘राजा’ बन्न लायकको नरहेको बताएका छन् ।
पार्टीको प्रशिक्षण विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउनु पर्ने छ ।’ देउवाले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव पनि दिए ।
‘ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् । राप्रपाले पार्टी सभापति बनाए हुन्छ । राप्रपा पनि पछि पछुताउँछ ।’ उनले भने, ‘पूर्वराजाले राजनीति गर्ने भए पार्टी खोलेर आए हुन्छ । त्यो पार्टीमा लाग्नेले पनि दुःख पाउँछ, राप्रपाले पनि पछि दुःख पाउनेवाला छ ।’
उनले कुनै पनि हालतमा राजसंस्था फर्कन नसक्ने भन्दै गणतन्त्रको रक्षामा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।