
सिरहा, १० चैत । महायज्ञको नाम दलित परिवार विस्थापित तथा विभेद गरिएको घटनाको मानवअधिकार संगठन सिरहाले अनुगमन गरेको छ ।
जिल्लाको औरही गाउँपालिकामा भएको सो घटनाबारे संगठनका तर्फबाट केन्द्रीय सदस्य राज कुमार राउत, जिल्ला सदस्य सुरेन्द्र कुशवाहा, विजय महतो, चन्देश्वर राम लगायतको टोलिले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले पीडित दीपक मल्लिकको घर हुलाकी सडक छेउमा निजकै सहमति र मंजुरीमा गाउँपालिकाले बनाइरहेको पाइएको छ । टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्न नसके पनि उनका दुई छोरीहरूसँग भएको कुराकानीअनुसार उनीहरूको माग केवल जनता आवासअनुसारको घर, बत्ति, खानेपानी र बस्न योग्य सुविधा सुनिश्चित गर्नु मात्र रहेको बताइएको छ ।
पीडित दीपक मल्लिकका सामाजिक सञ्जाल र विभिन्न अभिव्यक्तिहरूमा आफू र आफ्नो परिवार बस्न योग्य आवासको माग गर्दै आएको पुष्टि मानवअधिकारवादीहरूको अनुगमनमा पनि पाइएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार मल्लिक (डोम) समुदायका घरहरूबाट निकालिएको माटो यज्ञभूमिमा भगवानको मूर्ति उचो पार्न प्रयोग गरिएको हो र यज्ञ सम्पन्न भएपछि कृषि बजारीकरणका लागि त्यस भूमिलाई फराकिलो बनाउन खाली गराइएको हो भन्ने स्थानीयहरूको दावी छ ।
गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका नेता दिलिप यादव तथा यज्ञ आयोजक बजरंगी बाबाले उक्त कार्यमा कुनै करबल प्रयोग नगरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
मानवअधिकार संगठनको स्थलगत अनुगमन र समाजमा फैलिएको चर्चा–परिचर्चालाई ध्यानमा राख्दै सम्बन्धित निकाय र स्थानीय तहले गम्भीर ध्यान दिनुपर्ने देखिएको छ।