जनकपुरधाम, १२  चैत । मधेश प्रदेशसभाको अवरोध हटाउने सम्बन्धमा बसेको बैठक निष्कर्ष विहीन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सत्तापक्ष र विपक्षी दलहरुबीच कुरा नमिलेपछि मंगलबार ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले आफुहरुले जुन जुन कुराका लागि प्रदेशसभा बैठक अवरोध गरेको त्यो विषय छलफलमा प्रवेश गरेपनि निष्कर्षमा नपुगेको बताए ।

उनले प्राविधिक कुराहरुमा निष्पक्षता हुनुपर्ने भन्दै मूल अनियमितताको कुरा रहेकोमा यसमा विपक्षका सांसदले मात्र नभई सत्तापक्ष र कांग्रेसले विज्ञप्ती जारी नै गरेर अनियमितताको कुरामा आफुहरु संलग्न नरहेको भनिसकेकाले यो विषयमा न्यायपूर्ण छानबिन हुनुपर्ने बताए । उनले न्यायपूर्ण छानबिनका लागि छानबिन समितिको माग गरेकोमा उनीहरुले एकदिनको समय मागेको र सोही अनुसार आज बसेपनि सहमति नजुटेको बताए ।

यस्तै, बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले संसदमा रहेको अवरोध हटाउन बोलाइएको छलफल सकारात्मक नै रहेको बताए ।

उनले बैठकले निष्कर्ष निकाल्न नसकेपछि आज बोलाइएको बैठक अर्को सूचना जारि नभएसम्मको लागि स्थगित भएको बताए । उनले संसदमा विपक्षी दलका सांसदहरुले सशर्त अनुदान, मुख्यमन्त्रीको कुटनितिक मर्यादा विपरितको विषय उठाएकोमा पहिला त्यसमा सम्बन्धीत मन्त्रीहरुले जवाफ दिएपछि मात्र छानबिन समिति गठन गर्नुपर्ने आफुहरुको धारणा रहेको बताए ।

मुख्यमन्त्री सतिश कुमार सिंहले विपक्षीहरुले लगाएको आरोप सम्बन्धमा संसदमा पहिला बोल्न दिनुपर्ने र त्यसपछि सन्तुष्ट नभएपछि वृहत छानबिन समिति गठन गरिने आफुहरुको धारणा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !