
काठमाडौं, १५ चैत । राजाको नाममा देशमा भइरेहको आन्दोलन केही व्यक्तिहरुको उस्काहटमा अराजकता बन्दै गएको छ । राजा ज्ञानेन्द्र शाहलाई जनताले राजाबाट हटाएको १७ वर्षपछि केही अराजक समूहले राजाको नाममा हिंसात्मक गतिविधिमा सक्रिय छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग विगतमा असन्तुष्ट रहेका नवराज सुवेदी अहिले राजाको पक्षमा आन्दोलनको समर्थन गरिरहेको छ ।
त्यस्तै, बिबिसीका सम्पादक रवीन्द्र मिश्र र मिटरब्याजीको एजेन्डा लिएर सम्बन्धन रोकिएका बिएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईं अहिले राजाको मतियार बनेका छन् ।
यी तिनैजना अहिले राजाका नाममा आन्दोलनमा सक्रिय छन् । लम्साललाई आन्दोलनका नाइकेको रुपमा अघि बढेका छन् ।
प्रसाईंले विगतमा मिटरब्याजीको नाममा समाजलाई विभिन्न कित्तामा विभाजनको संघारमा पुर्याइसकेको छ ।
रवीन्द्र मिश्रचाहिँ असफल राजनीतिको सिकार भएको र अहिले आएर राजाको समर्थनमा आन्दोलन गरिरहेको छ ।
ज्ञानेन्द्र असफल र कलङ्कित राजा
देशमा वि.सं. २०५८ साल जेठ १९ गते राति ९ बजेर १५ मिनेटमा पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको परिवारको हत्या भयो । जसलाई दरबार हत्याकाण्डको नामले हामीले चिन्ने गरेका छौं ।
वीरेन्द्र हत्याकाण्ड सेलाउन नपाउँदै हतार हतार राजगढीमा बसे ज्ञानेन्द्र । त्यसपछि उनी भए राजा ।
राजा भएपछि ज्ञानेन्द्रले पूर्वराजा वीरेन्द्रको हत्यामा संलग्न व्यक्तिको खोजी वा दरबार हत्यकाण्डबारे अनुसन्धान गर्नु पर्ने थियो । त्यसो गरिएन । उनी राजाको मुकुट सम्हाल्न व्यस्त भइरहे ।
देशमा संकटकालीन अवस्था सिर्जना हुँदै गयो । ज्ञानेन्द्र त्यो पनि सम्हाल्न सकेन ।
हुनतः वीरेन्द्र हत्याकाण्डबारे अनुसन्धान नभएपछि र राजा ज्ञानेन्द्रको मौनताले वीरेन्द्रको हत्यामा उनको पनि संलग्नता हुन सक्ने कतिपयको अनुमान छ ।
देशमा राजा ज्ञानेन्द्रको सत्ता खोसिएको १७ वर्ष
देशमा सशस्त्र संघर्ष गरिहरेका माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३/०६३ मा आन्दोलन भयो । जसलाई जनआन्दोलन भनियो । त्यसै जनआन्दोलनको बलमा राजा ज्ञानेन्द्र राजगदीबाट बाहिरिए । वि.सं. २०६४ साल चैत्र २८ गते संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन गरियो ।
माओवादी पहिलो दल बन्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । नेपाली काँग्रेस र तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबीचको तालमेलबाट काँग्रेसबाट डा. रामबरण यादव राष्ठ्रपति र फोरमबाट परमानन्द झा उपराष्ट्रपति भए ।
वि.सं. २०६५ साल जेठ १५ गते राजा ज्ञानेन्द्र ठाउँमा पदासिन भए डा. रामबरण । १७ वर्ष अगाडि ज्ञानेन्द्रलाई हटाएर रामबरण पुगेका ठाउँमा अहिले नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल छन् ।
अब पौडेललाई हटाएर पुनः ज्ञानेन्द्र शाहलाई लैजाने खेल भइरहेको छ ।