काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशमशेर जबरालाई कारबाही गर्ने कि नगर्ने भन्ने धर्मसङ्कटमा देखिएको छ । पार्टीभित्र तत्काललाई कारबाही गर्नुपर्ने मत बलियो गरी प्रकट भएको राप्रपाका नेताहरू बताउँछन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले धवलको कारबाही नरुचाउने डर पनि उत्तिकै छ ।
‘हामी धर्मसङ्कटमा छौं । हामी कति स्वतन्त्र हुन सक्छौं भन्ने प्रश्न उब्जिएको छ,’ रापपाका एक नेताले भने ।
‘कारबाही गरौं भने निर्मल निवासले के भन्छ ?’ राप्रपालाई परेको सङ्कटबारे ती नेताले भने, ‘हामीलाई साच्चै धर्मसङ्कट परेको छ । कारबाही नगरौं गम्भीर अभियोग लागेको छ । कारबाही गरौं एकातिर आन्दोलनलाई नैतिक समर्थन थियो, अर्कोतिर निर्मल निवासको सन्देश फरक आउन सक्छ ।’
उनीहरू राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गर्ने भूमिकाको मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।
धवलशमशेर सांसद समेत रहेकाले उनलाई पार्टीले गर्ने निर्णय र लिने नीतिले दीर्घकालसम्म असर गर्ने नेताहरू बताउँछन् ।
यो विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।
बैठक अगाडि राप्रपाका शीर्ष नेताहरू समसामयिक परिस्थितिबारे अनौपचारिक संवादमा छन् ।
राजावादीको आान्दोलनपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरूमाथि आन्दोलनमा हिंसात्मक बनाउन भूमिका खेलेको आरोप लागेको छ ।
पक्राउ परेसँगै जबरा संसदीय गतिविधिबाट भने छुट्नेछन् । तत्काल सांसद पदबाट भने निलम्बन हुने छैन ।
राजनीतिक शास्त्रका प्राध्यापक विष्णु दाहाल कानुनको सही ब्याख्या हुनुपर्ने र त्यसअनुसार राजनीतिक दलहरूले निर्णय लिन सक्नुपर्ने बताउँछन् ।
‘कानुनी राज्य अवलम्बन गर्ने हो । कानुन अवलम्बन गर्दा जुनसुकै पार्टीको हकमा पनि कुनै नेता वा सांसदलाई गम्भीर आरोप लागेको छ भने त्यस्तो पार्टीले जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’
केही गरी गलत आरोप लगाइएको रहेछ भने आरोप लगाउनेमाथि समेत कारबाही गर्ने अभ्यास गर्न सकिने उल्लेख गर्दै दाहाल कानुनको आफू अनुकुल ब्याख्या गर्ने प्रवृत्ति पछयाउन नहुने सुझाउँछन् ।