रौतहट,  २५  चैत । रौतहटको प्रमुख भन्सार कार्यालय गौरमा क्वारेन्टाइन नहुँदा व्यापारी तथा कृषकहरुहरु ठूलो सास्ती भोग्न बाध्य छन । विगत लामो समयदेखी गौर भन्सार कार्यालयमा क्वारेन्टाइनको सुविधा नहुँदा जिल्लाका व्यापारी तथा सर्वसाधारण नागरिकहरु अनावश्यक सास्ती भोग्दै आएका छन् ।

क्वारेन्टाइनको सुविधा नहुँदा एकातर्फ व्यापारी तथा सर्वसाधारणहरु दुख भोग्न बाध्य छन भने अर्कोतर्फ भन्सार कार्यालयको राजश्व समेत दिनप्रतिदिन घट्दै गइरहेको छ । सरकारले गौर भन्सारमा क्वारेन्टाइन कार्यालयको व्यवस्था नगरिदिदा सिमावर्ती भारतीय बजारहरुबाट चोरी पैठारीमा समेत वृद्धि भएको छ ।

गौर भन्सार कार्यालयमा ७० प्रतिशतभन्दा बढी राजस्व खाद्यान्न र कृषिजन्य सामग्रीबाट उठ्ने गरेको छ । तर, त्यहाँ अहिलेसम्म खाद्यान्न तथा कृषि सामग्रीको क्वारेन्टाइन भने छैन । सरकारले गौर भन्सारमा क्वारेन्टाइन नदिँदा व्यापारी र भन्सारका कर्मचारी दुवै समस्यामा परेका छन् ।

गौर भन्सार कार्यालयमा क्वारेन्टाइनको सुविधा नहुँदा अहिले खाद्यान्न, कृषि र तरकारीलगायत सामग्री भारतबाट आयात गर्ने व्यवसायीले ति सामग्रीहरुको क्यारेन्टाइन गर्न पर्साको विरगंज स्थित जोगवनी भन्सार कार्यालय धाउनुपर्ने बाध्यता छ ।
सरकारले गौर भन्सार कार्यालयमा क्वारेन्टाइनको सुविधा उपलब्ध गराउन नसक्दा व्यापारीलाई कारोबार गर्न ठूलो कठिनाइ भइरहेको व्यापारीहरु बताउँछन ।

क्वारेन्टाइन अभावका कारण भारतमा उत्पादन हुने कृषिजन्य सामग्री रौतहटको गौर नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न नपाउँदा आफुहरु ठुलो समस्यामा परेको व्यापारीहरुको गुनासो छ ।
गौर भन्सारमा क्वारेन्टाइन नहुँदा भारतमा उत्पादित कृषिजन्य सामग्री पर्साको जोगवनी भन्सार कार्यालयबाट क्वारेन्टाइन गरी ल्याउनुपर्ने बाध्याता रहेको गरुडाका व्यवसायी धर्मनाथ जयसवालले बताएका छन् । पर्सा जिल्लाको भन्सारबाट क्वारेन्टाइन गरी रौतहटमा खाद्यान्न सामग्री ल्याउनुपर्दा ढुवानी भाडा, तेल खर्च, लेवर महंगो पर्ने गरेकोले आफुहरुलाई ठुलो आर्थिक भार पर्ने गरेको व्यवसायी जयसवाल बताउँछन ।

प्लान्ट क्वारेन्टाइन नभएपछि व्यवसायीले पूर्वमा सर्लाही तथा पश्चिममा पर्साको जोगवनी भन्सार कार्यालय भएर सामान आयात निर्यात गर्नुपरेको उनी बताउँछन । यसरी लामो दूरी तय गर्दा ढुवानी खर्च बढ्न गई उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा पर्नुका साथै अनावश्यक दुख भोग्न समेत बाध्य भएको व्यवसायी जयसवालको गुनासो छ ।

उनले भने, “भन्सारको मुख्य आम्दानी नै कृषिजन्य वस्तु हो, त्यसैले भन्सार कार्यालय गौरमा जति सक्दो चाँडो प्लान्ट क्वारेन्टाइन स्थापना गर्नुपर्छ । क्वारेन्टाइन स्थापनापछि राजस्व असुली बढ्नेछ भने आफुहरुलाई कारोबार गर्न समेत सहज हुनेछ ।”
अन्य जिल्लाको भन्सार कार्यालयबाट क्वारेन्टाइन गराइ सामान ल्याउनुपर्दा कृषिजन्य सामग्री महंगो पर्ने गरेका कारण गौर भन्सार कार्यालयमा जति छिटो क्वारेन्टाइन कार्यालय स्थापना गर्न जयसवालले सरकारसंग माग गरेका छन । गौरमा क्वारेन्टाइन नहुँदा आफूहरु निकै समस्यामा परेको गरुडाका अर्का व्यापारी मनोज साहले गुनासो गरे । क्वारेन्टाइनकै लागि अर्को जिल्लाको भन्सार कार्यालयमा जाँदा बढी समय लाग्ने भएकाले सवारीसाधन र कामदारका लागि बढी मूल्य तिर्नुपरेको उनी बताउँछन ।
सरकारले चाँडो भन्दा चाँडो गौर भन्सार कार्यालयमा क्वारेन्टाइनको व्यवस्था नगरे आफुहरु चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने व्यापारी तथा कृषकहरुले चेतावनी दिएका छन ।

क्वारेन्टाइन कार्यालय नहुँदा एकातिर व्यापारी विस्तारै निरुत्साही हुँदै गएका छन् भने अर्कातिर भन्सारको राजश्व समेत घट्दै गएको छ । त्यस्तै कृषिजन्य सामग्री, तरकारी तथा पशुपन्छी र दूधजन्य वस्तु आयात निर्यातमा समस्या भएको छ ।
यता क्वारेन्टाइन नहुँदा गौर भन्सार कार्यालयमा चाहिनेजति राजश्व नउठने गरेको पाइएको छ । क्वारेन्टाइनकै कारण गौर भन्सारमा राजस्व घट्दै गएको छ । रौतहटको प्रमुख भन्सार कार्यालयको रुपमा गैर स्थित रहेको भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ ।

क्वारेन्टाइन स्थापना भएपछि गौर भन्सार कार्यालयको राजश्व संकलनमा अहिलेको भन्दा तेब्बर वृद्धि हुनेछ भने चोरी पैठारीमा समेत कमि आउने छ । क्वारेन्टाइन स्थापना भएपछि रौतहटका व्यापारी तथा कृषकहरु भारतबाट सहज रुपमा गौर भन्सार भएर करोडौं करोडको कृषिजन्य सामग्री ल्याउने छन जस कारण गौर भन्सारको राजश्व संकलन ह्वातै बढ्नेछन भने अर्को तर्फ व्यापारी तथा कृषकहरुको समेत जिवनस्तरमा ठूलो परिवर्तन ल्याउने छ ।

त्यस कारण सरकारले जति छिटो गौर भन्सारमा क्वारेन्टाइन कार्यालय सञ्चालन गरी चोरी पैठारी नियन्त्रण र राजश्व संकलन वृद्धि गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !