
जनकपुरधाम, २६ चैत । केही दिनयता मधेस प्रदेश सरकारले योजनामा व्यापक भ्रस्टाचार गरेको आरोप लाग्दै आएको छ ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेशभरि रहेका पूर्वाधार विकास कार्यालयमार्फत् योजनामा व्यपाक भ्रस्टाचार हुने गरेको तथ्य बाहिरिपछि सरकारको चर्को आलोचना पनि हुँदै आएको हो ।
सरकारको योजना पूर्वाधार विकास कार्यलयले वडा कार्यालयमा पठाई उपभोक्ता समितिमार्फत् काम गराउनु पर्ने प्रावधान रहेको बताइएको छ । यद्यपि, पूर्वाधार विकास कार्यालयले योजना वडामा नपठाई मन्त्रालयमार्फत् २० देखि ३० प्रतिशतमा किनबेच हुने गरेको समाचार बाहिरिएको थियो ।
महोत्तरी जिल्लामा पूर्वाधार विकास कार्यालय जलेश्वरमा तालाबन्दी भएपछि योजना बढी कमिशनमा किनबेच भइरहेको तथ्य बाहिरिएको थियो । केही समयअगाडि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय बदनाम नै भएको थियो ।
सो मन्त्रालयका मन्त्री सरोजकुमार यादवले एक कार्यक्रममा पत्रकारहरु इंगित गरी योजना नदिए समाचार छापिदिने आरोप लगाएपछि योजना खरिदबिक्री भइरहेको समाचार बाहिरियो ।
भौतिक पुर्वाधार विकास मन्त्रालयको समचार सेलाउन नपाउँदै सिरहाका सांसद एवं वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मिर्चैया नगरपालिका ११ मा रहेको घुर्मीखोलामा तटबन्ध निर्माणमा कमिशन खाई योजना खरिदबिक्री गरेको समाचार बाहिरियो ।
एक टिभीमा प्रसारण भएको सो समाचारप्रति मन्त्री साहको गम्भीर ध्यानाकर्षण भएको स्वकीय अधिकृत अमृतकान्त रायले जनाएको छ । रायले चैत २६ गते एक विज्ञप्ति निकालेर घुर्मी खोलामा तटबन्ध निर्माण गर्न योजना बिक्री गरेको/कमिसन उठाएको विषय नितान्त पुर्वाग्रही र मनगढन्त रहेको जिकिर गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिः
उपरोक्त सम्वन्धमा केहि दिन यता कान्तिपुर टि.भी. लगायत केहि मिडियाहरुमा मधेस प्रदेश सरकार, वन तथा वातावरण मन्त्रि मा. त्रिभुवन साहज्यूको नाम जोडी प्रदेश सरकार मातहत संचालित बिकास योजनाहरुमा कमिसन उठाएको भ्रमित समाचारहरु उपर गम्भिर ध्यानाकर्षण भएको छ । सर्वप्रथमतः उक्त समाचारहरु आधारहिन, भ्रामक र पुर्ण रुपमा कपोलकल्पित रहेको व्यहोरा सवैमा अनुरोध छ ।
यस सम्वन्धमा मा. त्रिभुवन साहले सिरहाको मिर्चैया नगरपालिकाको वडा नं. ११ मा घुर्मि खोलामा तटवन्ध निर्माण गर्न योजना बिक्री गरेको/कमिसन उठाएको विषय नितान्त पुर्वाग्रही र मनगढन्त रहेको छ । मिडियाहरुमा जिकिर गरिए जस्तो उक्त योजनाको समिति निर्माण गर्न हाल सम्म सम्वन्धित वडा कार्यालयमा पुर्वाधार बिकास कार्यालय, सिरहाले कुनै पनि किसिमको चिठी नपठाएको, हालमा वडा कार्यालयले उक्त योजना सँग सम्वन्धित कुनै पनि उपभोक्ता समिति गठन नभएकोले योजनाको विक्री तथा कमिसनको कुरै उठ्दैन । यस्ता समाचारहरु फगत मिडिया च्यानलहरुको टि.आर.पी. बढाउने अस्त्र मात्र रहेको देखिन्छ । तर्सथ सञ्चार माध्यमहरू समेतले यस्ता समाचार प्रेसित गर्दा सत्य तथमा आधारित भएर मात्र प्रेसित गर्नुहुने आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु ।
जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारको बिकास प्रकृया उपरको स्पष्ट दिशानिर्देश, अनुभुति योग्य सुशासनको प्रत्याभुति गराई छाड्ने सरकारको भगिरथी प्रयत्न, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता तथा जनमत पार्टीको बढ्दो लोकप्रियता विरुद्ध गिद्दे दृष्टी राख्ने केही राजनैतिक पार्टीको आवरण भित्र रहेका व्यापारी प्रवृतिका केही व्यक्तिहरुले माननीय मन्त्रिज्यूको चरित्र हत्या गर्ने प्रपञ्चका साथ यी र यस्ता भ्रामक समाचारहरु प्रशासरण गर्ने गरेकोले यस्ता तथ्यहिन भ्रामक समाचारहरु उपर विश्वास नगर्न सम्पुर्ण विवेकशिल नागरिकहरुमा यसै प्रेश विज्ञप्ती मार्फत अनुरोध गर्दछु । माननीय मन्त्रीज्यू उपर लगाउने गरिएको यसता आरोपहरु प्रमाणित भएमा जुनसुकै किसिमको कारवाही भोग्न तयार रहेको मा. मन्त्रीज्यूको प्रतिवद्धता समेत रहेको छ ।