
रौतहट, २८ चैत । जनता समाजवादी पार्टी नेपाल रौतहटको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ । अध्यक्ष लगायतको पदमा सहमति हुन नसके पछि निर्वाचन प्रक्रिया शुरु भएको थियो ।
गरुडा स्थित एन प्लाजा होटलमा विहान बाट सुरु भएको मतदान दिउसो २ बजे सम्म चल्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन सकिए लगतै मतगणना शुरु हुने जनाइएको छ। वर्तमान जिल्ला अध्यक्ष श्याम विहारी यादव र पूर्व मेयर राजीव रंजन यादव भन्ने राजु यादव बीच अध्यक्षपदमा कडा प्रतिस्पर्धा देखिएको छ ।
त्यस्तै जिल्ला उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। दुईजना जिल्ला उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको हो। अम्रुल हक, अमृतलाल चौधरी, राम ईश्वर यादव र पारस भण्डारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
सचिव पदका लागि शम्भु प्रसाद यादव र जयराम महतोले उम्मेदवारी दिएका छन्। दुईजना सह सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। उपेन्द्र राय, दीपेन्द्र पटेल र मोहमद प्रवेज आलमले सह सचिवमा उम्मेदवारी दिएका छन्।
त्यस्तै कोषाध्यक्ष पदका लागि ब्रिज मोहन साह र सुरेन्द्र बैठाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै खुल्ला र समावेशी गरी सदस्य पदका लागि कुल ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।