
सिरहा, ११ वैशाख । जनता समाजवादी पार्टी नेपाल सिरहाको नयाँ नेतृत्वमा सहमति बन्न नसकेपछि मतदान प्रक्रिया शुरु भएको छ ।
वैशाख ८ गते शुरु भएको जिल्ला अधिवेशनमा १० गते अबेर राति सम्म भएको सहमतिको प्रयास सफल नभएपछि मतदान प्रक्रिया शुरु भएको मतदान अधिकृत सत्रुधन यादवले जनाएका छन ।
नयाँ नेतृत्वको लागि अध्यक्षपदमा अशोक कुमार यादव, राम दयाल यादव र रामचलित्र महतोले उम्मेदवारी दिएका छन । त्यसै गरि २ जना उपाध्यक्षका लागि राकेश कुमार गुप्ता, रमेश कुमार यादव, योगानन्द यादव, सोभित कुमार पासवान, लालबहादुर साह, राजेन्द्र प्रसाद साह र अशोक कुमार मण्डलले उम्मेदवारी दिएका छन ।
सचिव पदका लागि विन्द कुमार मण्डल र हरेराम यादवको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन । त्यसै गरि २ जना उपसचिवका लागि मनिक लाल यादव, हरिनारायण यादव, दिनेश कुमार महतो, इन्दल कुमार मण्डल, विजय कुमार यादव र प्रभात कुमार सिहले उम्मेदवारी दर्ता गराएका छन ।
५० जना सदस्यका लागि आरक्षित कोटामा सिमित उम्मेदवारी परे पछि उनिहरु निर्विरोध भएका छन भने खुल्ला २६ सदस्यका लागि ३६ जना र जनजाति २ सदस्यका लागि चारजना ले उम्मेदवारी दिएपछि उक्त पदमा समेत मतदान भै रहेको छ ।
सिरहा अधिवेशनका लागि कुल २७४ जना मतदाता रहेको छ । मतदान सकिए लगतै मतगणना शुरु हुने निर्वाचन अधिकृतले जनाएको छ ।