
जनकपुरधाम, २७ वैशाख । जनकपुरधाम मेयर कप टी–२० प्रतियोगिताअन्तर्गतको चौथो खेलमा भारतको मुजफ्फरपुरले सप्तरी टिमलाई १० विकेटले पराजित गरेको छ। जनकपुरधाम स्थित निर्माणाधीन रामजानकी बहुउदेश्यीय रंगशालामा जारी तेस्रो जनकपुरधाम मेयर कपमा सप्तरी पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
शनिबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। ११४ रनको लक्ष्य लिएर ब्याटिङ्ग गर्न आएका मुजफ्फरपुरले १०.३ ओभरमा ११९ रन बनाउँदै १० विकेटले जित हासिल गरेको हो। मुजफ्फरपुरको तर्फबाट रवि शर्माले ७२ र आलोक कुमारले अविजित ४३ रन बनाए। बलिङ्गमा सप्तरीको तर्फबाट कुनै खेलाडीले विकेट लिन सकेनन्।
यसअघि टस जितेर ब्याटिङ्ग गरेका सप्तरी टिमबाट कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। सप्तरीको तर्फबाट रोहन विकले सर्वाधिक ३१ रन बनाउँदा विकास दासले २४, पप्पु यादवले १३ र भोला साहले ११ रन बनाए। अन्य खेलाडीले दोह्रो अंकमा समेत रन बनाउन सकेनन्। बलिङ्गमा मुजफ्फरपुरका आशिष सिंहले ३ विकेट लिँदा सचिन कुमार सिंह र हर्ष कुमारले २/२ तथा आशुतोष कुमार र मयंक कुमारले समान १/१ विकेट लिए। ७२ रनको अविजित पारी खेलेका रवि शर्मा म्यान अफ द म्याच भएका छन्।
यसअघि आजको पहिलो खेलमा महोत्तरीलाई हराउँदै सितामढीले आफ्नो पहिलो जित निकालेका थिए। आइतबार सितामढी र धनुषाबीच तथा सर्लाही र मुजफ्फरपुरबीच खेल हुने तालिका रहेको छ। तेस्रो मेयर कपमा मधेस प्रदेशको ८ वटै जिल्ला टिम तथा भारतको ४ वटा टिम सहभागी छ।