राजविराज, २ जेठ  । सप्तरीको रुपनी गाँपालिका ३ मकरी टोल निवासी सुरेन्द्र कुमार रामलाई निर्घात कुटपीट गरेको भनिएका शम्भुनाथ नगरपालिका ४ का अजय साह सहितका माथी कडा कारवाही गर्न माग गरिएको छ ।

अस्पतालबाट डिस्चार्ज भएकै दिन सुरेन्द्रलाई लिएर राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरेका बुआ रुन्दीलाल रामले यस्तो माग गरेका हुन ।

तीन दिन अघि जग्गा विवाद तथा अजय साह विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिइएको मिटरव्याजी सम्बन्धी निवेदनको विषयलाई लिएर ३१ वर्षिय छोरा सुरेन्द्रमाथी निर्घात कुटपीट गरिएको पत्रकार सम्मेलनमा उनका वुवा रुन्दीलालले बताए ।

उनले आफ्नो जग्गा हडप्ने नियतले अजयको नेतृत्वमा आएका एक समुहले छोरालाई निर्घात कुटपीट गरी घाईते बनाएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्नू पर्ने माग गरे । उनले छोरालाई मरनासन्न हुने गरी कुटपीट गर्नेहरु विरुद्ध अघिल्लो दिन विहीवार जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको जानकारी दिए ।

उनले समस्या पर्दा गाउँ कै साहु लिलादेवी साहकोमा आफ्नो जग्गा धितो राखी २०७२ सालमा ९ लाख रुपैया ऋण लिएको सुनाए । जग्गा पास गराएर ४ कठ्ठा जग्गा धितो राखी उठाएको ऋण मध्ये पटक/पटक गरी ९ लाख ३४ हजार ५ सय रुपैया बुझाउँदा पनी जग्गा फिर्ता नगरेको तथा उक्त जग्गा अजय साहलाई बेचिएको थाहा पाएपछि विवाद सूरु भएको उनको भनाई छ ।

यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उनीहरु विरुद्ध अनुचित लेनदेन सम्बन्धि निवेदन दिएपछि आक्रोशित भई आफूमाथी आक्रमण भएको सुरेन्द्रले बताए । आफ्नो ज्यानै मार्ने नियतले कुटपीट गर्ने अजय साह लगायतको समुहलाई मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४ को दफा २२ बमोजिम कारवाही हुनु पर्ने उनको माग छ ।
शुक्रवार नै संयुक्त राजनीतिक दलित संघर्ष समितीका संयोजक भुवनेश्वर रजकले पनि एक प्रेस विज्ञप्ती मार्फत घट्नाको सत्यतथ्य छानवीन तथा दोषीमाथी कारवाहीको माग गरेको छ ।

यस सम्बन्धमा पीडक भनिएका अजय साहसंग पटक/पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । यता प्रहरीले उक्त घटनाबारे अनुसन्धान भईरहेको तथा दोषी पाइएकालाई कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !