
रौतहट, ५ जेठ । जिल्ला प्रशासन कार्यालय रौतहटमा पहिलोपटक टोकन प्रणाली लागु भएको छ। सेवाग्राहीहरुको सहजताका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले विद्युतिय टोकन प्रणाली लागु गरेको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोद कुमार खड्काले टोकन प्रणाली सिस्टम लागु गर्दै नयाँ कार्यको सुरुवात गरेका छन् । प्रमुख जिल्ला अधिकारी खड्काले आज एक कार्यक्रमबीच टोकन प्रणाली सिस्टमको उद्घाटन गरेका छन्।
सीडीओ खड्काले टोकन उपकरण’को उद्घाटन गरेपछि आजदेखि टोकन प्रणालीमार्फत सेवा प्रवाह सुरु भएको हो । सेवाग्राहीलाई सहज, सरल र छिटोछरितो सेवा प्रवाह गर्न र भीडभाड हुन नदिन टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय गौरबाट आजदेखि नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्र लगायत कामकाज टोकन प्रणालीमार्फत सुरु गरिएको सिडिओ खड्काले बताए।
दिनानुदिन बढ्दै गएको सेवाग्राहीको घुइँचोले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठिनाइ भइरहेको, भीडभाड नियन्त्रण भन्दा बाहिर गएर हो–हल्ला हुने र कहिलेकाहीँ बिचौलिया समेतले सेवाग्राहीलाई ठगी गर्ने घटना बढ्दै गएपछि टोकन प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
टोकन प्रणाली लागू भएपछि सेवाग्राहीलाई अब चर्को घाममा घण्टौं लाइनमा बस्नुपर्ने झन्झट अन्त्य भएको छ। पहिलापहिला जिल्ला प्रशासन कार्यालयमा आउँदा विभिन्न फाँटको ढोका र झ्यालमा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता थियो ।
पहिला लामो लाइन लाग्नुपर्ने भएको हुँदा हो हल्ला बढी हुनेगरेको र सेवाग्राहीको घुइँचो समेत लाग्ने गरेको कारण एकदिनमा हुने कामको लागि दुई दिन तीनदिनसम्म समय लाग्ने गरेको थियो ।
सेवाग्राहीलाई यसरी लाइन लाग्नुपर्दा अत्याधिक भीडभाड भई हो ( हल्ला र विभिन्न विवादले पालो आउनै गाह्रो हुने गरेकोमा टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा अब सहज हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
सेवाग्राहीले अब लाइनमा नबसी सिधै टोकन लिने र कतै बसेर आफ्नो पालो कुर्नुपर्ने हुन्छ । पालो आएपछि बिना भीडभाड र बिना कुनै झण्झट सहज तरिकाले नै काम गराउन पाइने भएको छ।
टोकन प्रणालीमार्फत सेवा सुरु भएपछि जस्तोसुकै भीडभाडमा पनि सेवाग्राहीले पालैपालो सेवा पाउने, अनावश्यक रूपमा लाइनमा बस्नु नपर्ने र कर्मचारीले पनि सहज रूपमा सेवा दिने भएका छन्।