जनकपुरधाम, ७ जेठ । जनता समाजवादी पार्टी नेपाल धनुषा निर्वाचन समितिले नवनिर्वाचित केहीलाई प्रमाण पत्र हस्तारण गरेको छ ।

५२ सदस्यीय निर्वाचित जिल्ला कार्यासमितिका पदाधिकारी र सदस्य मध्ये ९ जना सदस्यहरुलाई मात्रै जिल्ला निर्वाचन समितिले प्रमाणपत्र दिएको छ ।

स्रोत आमिन राईनको फेसबुक वाल अनुसार निर्वाचन समितिले जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष दिनेश प्रसाद यादव, सचिव रामनारायण कापडी, सहसचिव रामविहारी यादव तथा सदस्यहरु चन्देश्वर दास, सोनेलाल यादव, विनोद साह, महेश मण्डल र आमिन राईनलाई मात्रै प्रमाणपत्र दिएको हो ।

अन्य निर्वाचित पदाधिकारी र सदस्यहरु गत बैशाख २८ मा सम्पन्न निर्वाचनमा उपस्थित नभएका सदस्यहरुले मतदान गरेको भन्दै विरोधमा छन् । उनीहरु निर्वाचन मतपरिणाम छानवीन गर्न माग गरेका छन् ।

यता, प्रदेश निर्वाचन समितिले जिल्ला निर्वाचन समितिलाई तत्काल कुनै कार्य नगर्न जेठ ६ गते नै निर्णय गरी निर्देशन समेत दिएको बुझ्नमा आएको छ । जिल्ला निर्वाचनमा भएको त्रुटि जाँचबुझ गर्न ३ सदस्यीय छानवीन समिति समेत प्रदेश निर्वाचन समितिले बनाइसकेको छ ।

जिल्ला निर्वाचनको विषयमा परेको उजुरीका सम्बन्धमा जिल्ला निर्वाचन अधिकृत रामछविला यादवसँग बुझ्न खोज्दा उहाँले मलाई होइन, प्रदेश निर्वाचन समितिमा उजुरी परेकोले प्रदेशमा सम्पर्क गर्न जवाफ फर्काए ।

यो सँगै जनता समाजवादी पार्टी नेपाल धनुषा विवादित बन्दै गएको छ । गत बैशाख २५ र २६ गतेका लागि तोकिएको धनुषा जिल्लाको प्रथम जिल्ला अधिवेशन अन्तर्गत २८ गते सम्पन्न भएको निर्वाचन पछि विदादित हुन थालेको हो ।

बैशाख २९ गते आएको मतपरिणामविरुद्ध अध्यक्षका प्रत्याशी शत्रुधन यादवले निर्वाचनमा अनुपस्थित सदस्यहरुले मत खसाएको भन्दै छानवीनको माग गरेका थिए । १ सय ६४ मत पाएका शत्रुधन यादव पूर्व जिल्ला अध्यक्ष समेत रहेका पशुपति यादवसँग ४ मत अन्तरले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !