जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई कानुन उलंघन गरेको आरोप लागेको छ ।

मन्त्री लेखीले दुई हप्ता अगाडी आफ्नै निजी सचिवालयमा कार्यरत रहेका भतिज किशोर लेखीलाई कानुन विपरित चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको आरोप लागेको हो ।

रिट निवेदक लालकिशोर यादवले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेपनि आवेदकहरुको योग्यता र क्षमताको मापन नै नगरी नियुक्ति दिइएको आरोप लगाएका छन् ।

लालकिशोर यादवको रिटउपर सुनुवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश गीताप्रसाद तिम्सिनाको एकल इजलासले बोर्डको अध्यक्ष नियुक्ति विषयमा कारण देखाउ आदेश गरेका हुन् ।

इजलासले मन्त्री लेखीको सिफारिसमा बोर्ड अध्यक्ष पदमा लेखीलाई नियुक्ति दिन निर्णय गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई असार ६ गते अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको देखिँदा प्रस्तुत रिट निवेदनको गम्भिरताका आधारमा दुवै पक्षको उपस्थितिमा छलफल गरी अन्तरिम आदेश जारी हुने/नहुने विषयमा निश्कर्षमा पुग्न मनासिव देखिँदा मिति २०८२ असार ६ गतेको छलफलको पेशी तोकी नियमानुसार पेश गर्नु’ आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !