जनकपुरधाम १० असार । बलवा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ।

नगर उप–प्रमुख राम दुलारी ठाकुरले नगरसभामा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार आर्थिक रूपले आत्मनिर्भर र सामाजिक रूपले समावेशी समाज निर्माणका लागि प्राथमिक क्षेत्रहरूमा विशेष बजेट विनियोजन गरिएको छ।

कृषि क्षेत्रमा:

कृषकलाई प्राविधिक सहयोग, मलबीउ अनुदान, सिँचाइ सुविधा र कृषि यान्त्रीकरणका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ। साथै, कृषि उत्पादनमा वृद्धि, युवा कृषक प्रोत्साहन र कृषि बजार पहुँचलाई सरल बनाउने योजना रहेको जनाइएको छ।

शिक्षा क्षेत्रमा:

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालीम, विद्यालय भौतिक पूर्वाधार सुधार, छात्रवृत्ति कार्यक्रम र डिजिटल शिक्षामा जोड दिइएको छ। विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा पुनः भर्ना गराउने अभियानलाई निरन्तरता दिने बताइएको छ।

स्वास्थ्य क्षेत्रमा:

स्वास्थ्य चौकीहरूको स्तरोन्नति, सुरक्षित मातृत्व सेवा, नियमित स्वास्थ्य परीक्षण कार्यक्रम, आम नागरिकलाई लक्षित निःशुल्क औषधि वितरण र सरसफाइ तथा पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई बजेटमार्फत अघि बढाइनेछ।

नगरप्रमुख राम विजय महतोले उक्त बजेटलाई समावेशी, जनउत्तरदायी र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको बताए। प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि जैनुल राइनले बलवाको बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गरेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !