
जनकपुरधाम १७ असार । धनुषा प्रहरीले दुई फरक अपराधिक घटनामा संलग्न दुई जना अभियुक्तलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये एकजनामाथि लागुऔषध कारोबारको आरोप छ भने अर्का अभियुक्तले सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गरी लाखौँ असुलेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार सिरहा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कृष्ण ठाकुरलाई जनकनन्दनी गाउँपालिका–१ स्थित ईनर्वा कमला बाँध सडक खण्डबाट पक्राउ गरिएको हो ।
भारतको जयनगरबाट नेपाल प्रवेश गरिरहेका ठाकुरको साथबाट ४९.५९ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । मोटरसाइकलमा सवार तीन जनामध्ये एक जना भाग्न खोजेपछि चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, धनुषाको औरही गाउँपालिका–५ का ३६ वर्षीय हनिफ नदाफलाई एक महिलालाई इमो एपमार्फत फोटो र भिडियो आदान–प्रदान गरी ब्ल्याकमेल गर्दै पाँच लाख रुपैयाँ असुलेको अभियोगमा पक्राउ गरिएको छ । उनले पीडितलाई मानसिक र शारीरिक यातना दिएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलाई धनुषा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
त्यस्तै, धनुषा प्रहरीले पछिल्लो अवधिमा अदालतबाट फैसला भइसकेका १०२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट कुल ७१ वर्ष ७ महिना २२ दिनको कैद र ७९ लाख ८३ हजार रुपैयाँभन्दा बढी जरिवाना भुक्तान भएको छ ।
त्यस्तै, प्रहरीले ३३ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरी जनकपुर भन्सार कार्यालयमा बुझाएको छ । लागूऔषध कारोबारमा संलग्न १० जनालाई नियन्त्रणमा लिई ६ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
अनलाइन ठगीका १५ उजुरी, ९ जना पक्राउ
पछिल्लो तीन महिनामा जिल्ला प्रहरी कार्यालयमा अनलाइन ठगीसम्बन्धी १५ वटा उजुरी परेका छन् । सस्तो मूल्यमा सामग्री दिने प्रलोभन देखाई ठगी गर्ने गिरोहविरुद्ध विशेष अपरेशन सञ्चालन गरिएको छ ।
अपरेशन अन्तर्गत रोशन साहसहित ९ जनालाई पक्राउ गरी ठगी, किर्ते, नागरिकता दुरुपयोग र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार ठगी गरिएका १ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम फिर्ता गराइएको छ ।
धनुषा प्रहरीले सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार र सामाजिक सञ्जाल प्रयोग गरी हुने साइबर अपराधमाथि निगरानी अझ कडा बनाइएको जनाएको छ ।