सप्तरी, १४ साउन । चुरे विनाशका कारण अहिले मधेशले जलसंकटको समस्या भोगिरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जलसंकटको प्रमुख कारण सरकारको गलत नीति रहेको दावी अध्यक्ष यादवले गरेका छन् ।

बुधबार सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले व्यापक रुपमा भइरहेको चुरे दोहनको प्रमुख जिम्मेवार सरकार नै रहेको बताए । जसकारण मधेशका अन्नदाता किसान त्राहिमाम अवस्थामा छन् ।

यादवले अन्तर्राष्ट्रिय संस्था युनेस्कोले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको संकट आउने भनी सचेत गराएको स्मरण गराए । त्यस विपरीत सरकारले गलत नीति अख्तियार गरेर चुरेको दोहन जारी राख्दा अहिले जलसंकटको समस्या भोग्नु परिरहेको बताए ।


चुरे क्षेत्रको नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्र अतिक्रमण गरिएको छ । जसकारणले भूमिगत जलश्रोतको मुख्य आधारका रुपमा रहेको चुरेको विनाश हुँदै गएको बताउँदै यसको दोष सरकारले नै लिनुपर्ने अध्यक्ष यादवले दावी गरे ।


‘पहिले १०/१५ फिट खन्दा भेटिने जमिन मुनीको पानी अहिले ४ सय फिट मुनी पनि भेट्न कठिन भइसको छ ।’ यस्तै अवस्था रहने हो भने केही वर्षपछी समस्या कति विकराल बन्ला भन्ने कुरा सरकारले सोचेको छ की छैन् ? उनको प्रश्न छ ।

अध्यक्ष यादवले अर्बौको विदेशी सहायता आएपनि सरकारको गलत नीतिले चुरेको संरक्षण नभएर मधेशमा मरुभूमीकरणको खतरा बढेको टिप्पणी गरे ।

जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए । सो अवसरमा जसपा नेपालका केन्द्रिय नेता मृगेन्द्रकुमार सिंह यादव, शैलेन्द्र प्रसाद साह, मनिष सुमन, प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, महिला नेतृ रमिलादेवी साह, प्रदेश अध्यक्ष बालकिशोर यादव लगायतले शुभकामना दिएका थिए ।

नयाँ नेतृत्त्व चयनका लागि जारी अधिवेशन ३ दिनसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !