जनकपुरधाम, २० भदौ । मधेसकेन्द्रित दलहरू आवद्ध संघीय लोकतान्त्रिक मोर्चा का नेताहरूले अधिकार र पहिचानका लागि फेरि एकजुट भएर सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्। जनकपुरधाममा आयोजित जागरणसभामा शीर्ष नेताहरूले मधेस, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गलाई लक्षित गरेर भइरहेको षड्यन्त्र विरुद्ध मोर्चाबन्दीबाहेक विकल्प नरहेको धारणा राखे।
कार्यक्रममा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर ले मधेस आन्दोलनका क्रममा संघर्ष गरेका कार्यकर्तामाथि झुटा मुद्दा लगाएर जेल हाल्ने काम भएको भन्दै रोष प्रकट गरे। उनले राजा हटाएर गणतन्त्र ल्याउनु उपलब्धि भए पनि मधेस अझै आत्माविहीन कंकाल बनेको छ, त्यसैले अब दल फरक भए पनि विचार एउटै भएकाले संयुक्त आन्दोलन जरुरी छ भने।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले कांग्रेस र कम्युनिष्ट दलहरू संघीयता र समावेशिताप्रति उदासीन रहेकाले मुलुक संकटमा फसेको आरोप लगाए। उनले संवैधानिक निकायहरूलाई नातावाद र कृपावादमा चलाएको दाबी गर्दै भूमि विधेयकले मधेसीलाई आफ्नै भूमिमा अल्पसंख्यक बनाउने खतरा रहेको बताए। यादवले बराबरी हक, समान भागीदारी र प्रदेशमा आफ्नै शासन नभएसम्म संघर्ष जारी राख्नुपर्नेमा जोड दिए।
त्यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ले कांग्रेस र एमालेको विभाजनकारी नीतिका कारण मधेसी, थारु, आदिवासी जनजाति राज्यविहीन बनेको आरोप लगाए। उनले विगतमा छुट्टाछुट्टै संघर्ष गर्दा असफल भएको स्मरण गर्दै अब मोर्चाबद्ध भएर मात्र सफलता सम्भव हुने बताए।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल ले दुई ठूला दल मिलेर संविधान संशोधनको बहानामा दुई दलिय व्यवस्था ल्याउन खोजिरहेको टिप्पणी गरे। उनले त्यस्तो प्रणालीले देशका उपलब्धि र लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी दिए।
त्यसैगरी, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी ले राज्य पनि नागरिककै हुनुपर्ने भन्दै मधेसी समाज राजनीतिक र सामाजिक रूपमा विभाजित भएकाले अब एक भएर अघि बढ्नुपर्ने धारणा राखे।
सभामा सहभागी सबै नेताहरूले दलगत भिन्नता कायम रहे पनि साझा उद्देश्यका लागि एकीकृत मोर्चा बनाएर संघर्षमा उत्रनुको विकल्प नरहेको निष्कर्ष निकाले।





