जनकपुरधाम, २६ भाद्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी पुस्ताका युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै सरकारको बर्बर दमन र नरसंहारको कडा निन्दा गर्नुभएको छ। उहाँले आन्दोलनका क्रममा भएका तोडफोड, लूटपाट र आगजनीका घटनाहरू जेन-जी युवाहरूबाट नभएको दाबी गर्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ।
प्रचण्डले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनमा सहादत प्राप्त युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले १४ महिनाअगाडि कांग्रेस र एमालेले गरेको ‘असंवैधानिक र अप्राकृतिक गठबन्धन’ ले सुशासनका पक्षमा चालिएका कदमबाट अत्तालिएर जनताको आक्रोश निम्त्याएको बताउनुभएको छ। “भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो,” विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनको दोस्रो दिन भएका तोडफोड र आगजनीका घटनाहरू जेन-जी युवाहरूको आदर्शविपरीत भएको ठहर गर्दै प्रचण्डले ती घटनाहरूमा ‘अवाञ्छित तत्वहरूको घुसपैठ’ भएको दाबी गर्नुभएको छ। उहाँले व्यवस्थापिका संसद् भवन, राष्ट्रपति निवास, सिंहदरबारलगायतका सार्वजनिक संरचनामा भएका विध्वंसकारी क्रियाकलापहरूको न्यायिक छानबिन माग गर्दै भन्नुभएको छ, “यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं।”
विज्ञप्तिमा प्रचण्डले सरकार गठनपछि आफूले संसद्मा दिएको चेतावनी स्मरण गराउँदै सरकारको कुशासनले जनताको धैर्यता फुटेको बताउनुभएको छ। उहाँले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसदहरू मन्त्री नबन्ने तथा उच्चपदस्थहरूको सम्पत्ति छानबिनको पक्षमा रहेको उल्लेख गर्नुभएको छ। “आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो,” उहाँले भन्नुभएको छ।
नेपालको राजनीतिक इतिहासलाई स्मरण गर्दै प्रचण्डले जनयुद्ध, जनआन्दोलन र शान्ति सम्झौतामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले संविधान कार्यान्वयनमा कमजोरी भएको स्वीकार गर्दै प्रत्यक्ष कार्यकारी रहने प्रणाली र समावेशी अधिकारहरूका लागि संविधान संशोधनको आवश्यकता औंल्याउनुभएको छ। “लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो,” विज्ञप्तिमा भनिएको छ।
प्रचण्डले जेन-जी आन्दोलनका मागहरू संविधानसम्मत रूपमा पूरा हुन सक्ने विश्वास व्यक्त गर्दै प्रतिगामी तत्वहरूविरुद्ध सजग रहन अपील गर्नुभएको छ। उहाँले आफ्नो पार्टीलाई परिवर्तनका पक्षमा अडिग रहेको बताउँदै अन्य पार्टीहरूसँग तुलना नगर्न आग्रह गर्नुभएको छ। अन्तमा, राष्ट्रपतिबाट भइरहेको पहल र सुरक्षा निकायहरूको भूमिकाको सराहना गर्दै सबै पक्षलाई संयमता र संवादका लागि आव्हान गर्नुभएको छ।CM_Prachanda-_Final_Press_Release__26_bhadra





