जनकपुरधाम, २६ भाद्र । संघीय लोकतान्त्रिक मोर्चाले हालै जेन जेड युवा पुस्ताले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित गरेको आन्दोलनमा सरकारले अपनाएको दमनकारी नीतिप्रति आपत्ति जनाएको छ।
मोर्चाले मंगलबार जारी विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता र शक्तिको दम्भ देखाउँदै आन्दोलनरत युवामाथि गोली प्रहार गरी युवाहरूको हत्या गरेको र हजारौंलाई घाइते बनाएको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारको हिंसात्मक कार्यले मुलुकमा ठूलो धन–जनको क्षति भएको छ। मोर्चा यसको घोर विरोध, भर्त्सना र निन्दा गर्दछ।”
मोर्चाले आन्दोलनका क्रममा प्राण गुमाएका सबै शहीदलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, शहीद परिवारप्रति गहिरो संवेदना प्रकट गरिएको छ।
वर्तमान अस्थिर राजनीतिक अवस्थाबारे मोर्चाले भनेको छ, “शान्ति, सुरक्षा, सामाजिक सद्भाव र कानून व्यवस्था कायम गरी मुलुकमा अमन–चैन स्थापना गर्न अत्यावश्यक छ।” मोर्चाले ओली नेतृत्वको सरकार “पहिले नै पतन भइसकेको” भन्दै युवा पुस्ताका माग सम्बोधन हुने गरी लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय पहिचान विपरीत नहुने गरी नयाँ सरकार गठनको माग गरेको छ।
यद्यपि मोर्चाले नेपालको वर्तमान संविधानप्रति असन्तुष्टि प्रकट गर्दै पनि समस्या समाधानका लागि संवैधानिक मार्गमै अघि बढ्नुपर्ने धारणा राखेको छ। विज्ञप्तिमा भनिएको छ, “संविधानअनुसार नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ। त्यसका प्रतिकूल हुने कुनै पनि कार्य मोर्चालाई स्वीकार्य हुने छैन।”
मोर्चाले असंवैधानिक बाटो, अतिवादी विचार तथा प्रतिगमनकारी गतिविधिप्रति सतर्क रहन सबैलाई आग्रह गर्दै संसद र संविधानभित्रबाटै समाधान खोज्न राजनीतिक दल र नागरिक समाजलाई पनि आह्वान गरेको छ।






