जनकपुरधाम, १४ असोज । जेनजीले सरकारसँग प्रदेश खारेजीको माग गरेको भनेर संघीयता विरोधीहरुले देशमा हल्ला फिँजाइरहेको आरोप जेनवाईले लगाएको छ ।
जेनवाईका केन्द्रीय संयोजक एचआर वंशालीले भने, ‘जेनजी पुस्ताले गरेको आन्दोलनको फाइदा विदेशीको इशारामा संघीयता विरोधीहरुले लिन खोजिरहेको छ।’
भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन देशमा व्याप्त भ्रस्टाचार र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकाउनु पर्ने विषयमा केन्द्रीत थियो । आन्दोलनपछि जेनजी पुस्ताको आन्दोलनको उद्देश्यमा देशमा संघीयता समाप्त पार्ने गरी प्रदेश खारेजी, संविधान खारेजी, राष्ट्रपतिको राजिनामा र देशमा राजा ल्याउने लगायतको माग कहाँबाट आयो ? उनले प्रश्न तेर्स्याए ।
जेनजीको आन्दोलनको उपलब्धी लिन घुसपैठियाहरु अग्रसर भएको र उनीहरुले नै यस्तो षडयन्त्र गरिरहेको वंशालीले बताए ।

हामीलाई सुध्रिएको गणतन्त्र चाहिएको छ भन्दै वंशालीले सरकारले विगत लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योगहरु यथाशीघ्र सञ्चालन गर्नुपर्ने, देशको अर्थतन्त्रमा क्रमिक सुधार गरी गरिब, मजदुर, किसान र पिछडिएका वर्ग तथा समुदाय लक्षित कार्यक्रम ल्याई जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति गराउन सक्नु पर्दछ ।
भ्रस्टार राजाबाट काँग्रेस, काँग्रेसबाट एमाले, एमालेबाट माओवादी र माओवादीबाट अन्य दलहरुले सिकेको आरोप लगाउँदै उनले भने, ‘राजावादीले गणतन्त्रको विरोध गर्छ, दशवर्षे जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन किन भएको हो ? यो कुरा हामीले बुझ्न जरुरी छ ।’
ती सबै युद्ध र आन्दोलनमा पनि त त्यसबेलाका जेनजी पुस्ता तथा अहिलेका जेनवाई लगायतका पुस्ताहरुको महत्त्वपूर्ण योगदान रहेको भन्दै हजारौंको त्याग र बलिदानबाट नै देशमा संघीयता आएको हो नि । अहिलेको जेनजी पुस्तालाई संघीयता विरोधी तत्त्वहरुले गलत पाठ सिकाइरहेकोले तत्काल हामी सबै सचेत रही वर्तमान सरकारलाई जेनजी पुस्ताले दिएको म्यान्डेट पूरा गर्न सबैलाई सहयोग गर्न आह्वान समेत गरे ।
हाल जेनजीले उठाएको मागप्रति समर्थन जनाउँदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्नु पर्ने माग जेनवाईले अघि सारेको छ । जबसम्म देशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, दलित र महिला लक्षित विशेष निर्वाचन क्षेत्र कायम गरिँदैन तबसम्म हाम्रो देशमा सबै वर्ग र समुदायको प्रतिनिधित्त्व हुन सक्दैन । एकात्मक र नश्लीय मानसिकताले ग्रसित व्यक्ति सरकारमा हाबी हुन्छ भने देशमा अरु सबैको अस्तित्व पुनः संकटमा पर्ने संकेत गर्दै संघीयताको पक्षमा रहन सबैलाई जेनवाईका संयोजक वंशालीले आग्रह समेत गरेका छन् ।
यद्यपि, हामीले गरेको सहयोगलाई उनीहरुले कमजोर ठानेर संघीयता विरोधी गतिविधि र प्रदेश खारेजी जस्ता निर्णय गर्यो भने जेनवाईले त्यसको प्रतिकार गर्न पछि नहट्ने संयोजक वंशालीले चेतावनी समेत दिए ।





