लहान, २० असोज । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीयता, सुशासन र समृद्धिसहितको समाजवाद अहिलेको प्रमुख आवश्यकता रहेको प्रस्ट्याएका छन् ।

सोमबार सिरहाको लहानमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जसपा नेपाल समाजवादको राजनीतिमा केन्द्रित रहेर संघीयता र सुशासनको वकालत गरिरहेको दावी गरे ।

विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुले जसपा नेपालमा प्रवेश गरेका छन् । देशका सबै पार्टीले एउटै प्रवत्तिका राजनीतिक खोल ओढेका कारण देश र मधेसको विकास अग्रगतिमा अघि बढ्न सकेको छैन । देश र मधेसको विकास तथा समृद्धिमा जसपा नेपालले अग्रणी भूमिका खेल्नेमा आफूहरु विश्वस्त रहेको भन्दै पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन् ।

अध्यक्ष यादवले पार्टी सुदृढीकरण र मधेश प्रदेशको विकासका लागि सबै तहमा एकताको आवश्यकता रहेको जिकिर गर्दै नवप्रवेशीहरूलाई पार्टीमा भित्र्याउँदै सबैलाई पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध रहन आग्रह गरे ।

सिरहा जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा लहान–१ स्थित गोपाल सेवा सदनमा पार्टी जिल्ला समिति र लहान नगर समितिले संयुक्तरुपमा आयोजना गरेको “पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम” मा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिती उल्लेख्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !