काठमाडौं , २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । २१ फागुनमा प्रतिनिधिसभाको चुनाव हुने घोषणा गरिए पनि राजनीतिक दलहरूसँग अन्तरिम सरकार र राष्ट्रपतिले संवाद गरेका थिएनन् । संवादहीनता अन्त्य गरी चुनावको वातावरण बनाउन बैठक बोलाइएको हो ।

यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।

२४ भदौपछि बनेको नयाँ सरकारले २१ फागुनमा चुनाव गराउनुपर्ने दायित्व छ । चुनावी कार्यतालिका सार्वजनिक भइसक्दा पनि दलहरूसँग समन्वय नगरेको भनी सरकारको आलोचना भइरहेको छ । यसै सन्दर्भमा हिजो प्रधानमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर दलहरूसँग समन्वय गरिदिन अनुरोध गरेकी थिइन् ।

अहिलेसम्म नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एसलगायत केही दलले चुनावमा सहभागी हुने संकेत गरेका छन् भने कांग्रेस अनिर्णित छ । एमालेले भने संसद पुनःस्थापनालाई प्रमुख बटमलाइन बनाउने संकेत गरेको छ । एमाले सचिवालय बैठक आजै बस्दै छ । कांग्रेसको पनि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक हिजैदेखि जारी छ । यस्तै, नेकपा एसको सचिवालय बैठक पनि आज बस्ने तय भएको छ । रास्वपाले पनि सचिवालय बैठकमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !