
जनकपुरधाम, ३१ असोज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज एक महत्वपूर्ण सुरक्षा समन्वय बैठकको आयोजना गरी प्रदेशमा शान्ति सुरक्षा मजबुत बनाउने विषयमा छलफल गर्नुभएको छ । जनकपुरमा सम्पन्न उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू, साथै प्रदेश सरकारका प्रमुख सचिव र विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।
बैठकमा मुख्यमन्त्री सोनलले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकायहरूलाई थप प्रभावकारी र जनउत्तरदायी ढंगले काम गर्न निर्देशन दिनुभयो । उहाँले आम नागरिकले सुरक्षाको स्पष्ट अनुभूति गर्न सक्ने वातावरण बनाउन जोड दिनुभयो भने सरकारका सेवा प्रवाह पनि छिटो, छरितो र पारदर्शी ढंगले सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा आन्तरिक सुरक्षा रणनीति, अपराध नियन्त्रण, सीमावर्ती सुरक्षाका चुनौती, तथा प्रशासनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती लगायतका विषयमा गहन छलफल भएको थियो ।
उक्त बैठकमा मधेस प्रदेश सरकार नव नियुक्त मन्त्रीद्वय महेश यादव र कनिश पटेलको विशेष उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री सोनलले प्रदेश सरकार शान्ति, सुरक्षा र सेवा प्रवाहमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिँदै सबै निकायबीच समन्वयलाई अझ बलियो बनाउन आग्रह गर्नुभयो ।