भागचरण यादव
जनकपुरधाम, ६ कात्तिक । जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशका मुख्यसचिव ज्ञानेन्द्रकुमार यादवले कामभन्दा पनि यशोआरामका लागि नेताहरु मन्त्री बन्ने गरेको बताएका छन् ।
बिहीबार अंशखबरसँग कुरा गर्दै पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले अहिलेका मन्त्रीहरुले विगतमा मधेश सरकारले देखाएको बाटो र गरेको कामको तुलनामा यशोआराम गरिरहेको बताएका हुन् ।
अहिले जुनसुकै पार्टीबाट मन्त्रीहरु बन्नेहरु काम भन्दा पनि गफ बढी दिने गरेको उनले आरोप लगाए । मन्त्रीहरु सुशासन ओझेल पार्दै भ्रस्टाचार तर्फ अग्रसर भएको संकेत गर्दै पछि बन्ने गरेका कानूनमन्त्रीहरुले भ्रस्टाचार रोक्न कुनै पहल नगरेको जिकिर गरे ।
नेताहरु मन्त्री भइसकेपछि मन्त्रालयअन्तर्गतका संस्थाहरुलाई समेत स्वायत्त अधिकार नदिने गरेको र आफू मातहत राखेर भ्रस्टाचारलाई बढाबा दिएको उनको कथन छ । देश र जनताको सेवा गर्नलाई मन्त्री बन्ने हो तर हाम्रो देशमा नेताहरु गफ दिएर हिँड्ने गरेकाले उनीहरुले भ्रस्टाचार नगरे चल्नै नसक्ने भएकोले देशमा मात्रै होइन, हाम्रो प्रदेशमा पनि भ्रस्टाचार मौलाएको जनाए ।
आफू आन्तरिक मामिला तथा कानूनमन्त्री भएको बेला प्रदेशमा विपद् व्यवस्थापन, सडक सुरक्षा, कानून निर्माण, प्रहरी व्यवस्थापन, सञ्चार क्षेत्र लगायतका क्षेत्रमा गरेका कामहरु पछि बन्ने गरेका मन्त्रीहरुले कटौती गर्ने गरेको बताए ।
तत्कालीन आन्तरिक मामिला तथा कानून (हाल गृह, सञ्चार तथा कानून) मन्त्रालय अन्तर्गतका आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड लगायतका महत्त्वपूर्ण स्वायत्त निकायहरु गठन गरेको बताउँदै मन्त्रीहरुले सो संस्थाहरुको मर्म बुझ्न नसकेको प्रति दुःख व्यक्त गरे । साथीहरु मन्त्री त बने तर उनीहरुले ती स्वायत्त संस्थालाई नियन्त्रणमा लिने गरेको बताए ।
सञ्चार संस्था, सञ्चारकर्मी र कलाकारहरुको विकासका लागि तत्कालीन कानून मन्त्रालयले देखाएको बाटो पछिका मन्त्रीहरुले बिराएको उनको आरोप छ ।
उनी मन्त्री रहँदा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बन्दा उनले मन्त्री पद छाड्नु परेको थियो ।
पार्टीमा सादगी नेताको रुपमा परिचय बनाएको पूर्वमन्त्री यादव असोज २७ र २८ गते जनकपुरधाममा सम्पन्न प्रथम ऐतिहासिक मधेश प्रदेश अधिवेशनबाट मुख्यसचिवमा निर्वाचित भएका हुन् ।
यादवसँगै प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव र कोषाध्यक्षमा विष्णुकुमार साह निर्विरोध निर्वाचित भएका हुन् ।





