जनकपुरधाम, ६ कात्तिक । भारतको बिहारमा कात्तिक २० र २५ गते (नोभेम्बर ६ र ११) मा हुन गइरहेको चुनावमा महागठबन्धनले राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव (बिहार विधान सभाका विपक्षी नेता) लाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ ।

कांग्रेस (आइ), राजद, भारतीय कम्युनिष्ट पार्टीलगायत ७ दलको महागठबन्धन आज पत्रकार सम्मेलन गरेर तेजस्वी यादवलाई बिहारको मुख्यमन्त्री रूपमा अघि सारेको छ ।

कांग्रेस (आइ)का नेता अशोक गहलोतले महागठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा यो घोषणा गरेका छन् ।

उनले भने,महागठबन्धनको सरकार बन्ने हो भने मुख्यमन्त्री तेजस्वी यादव हुनेछ भने मुकेश सहनी उपमुख्यमन्त्री हुने जानकारी गराए । अन्य उपमुख्यमन्त्रीहरू पनि पिछडिएका समुदायका नियुक्त गरिने उनले बताए ।

नेता गहलोतले भने, ‘‘तेजस्वी यादव हाम्रो नेता हुनुहुन्छ, उहाँ मुख्यमन्त्रीको उम्मेदवार हुनुहुन्छ, एनडीएले उनीहरूको मुख्यमन्त्री को हुनेछ भनेर घोषणा गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा भने, “तपाईँहरूले ममाथि विश्वास गर्नुभएको छ । म सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन्छु । म सबैलाई भन्न चाहन्छु कि म उनीहरूले ममाथि राखेको विश्वासमा खरो उत्रनेछु । पाँच वर्षमा होइन २० महिनामा काम गरेर देखाउने छु र म २० वर्ष पुरानो अयोग्य सरकारलाई उखेल्नेछु ।’

उनले आफ्नो नेतृत्वमा सरकार बने हरेक घरमा एक जना सरकारी जागिरे हुने कुरा दोहोर्‍याए । पत्रकार सम्मेलनमा कांग्रेस, राजद, भीआईपीसहित सात दलका १४ जना नेताहरू उपस्थित थिए ।

सबै दलका नेताहरूलाई बोल्ने अवसर दिइएको थियो । आफ्ना भाषणहरूमा सबैले महागठबन्धन भित्रको एकताको बारेमा कुरा राखेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !