एजेन्सी,

जनकपुरधाम ७ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रबारदेखि बिहारमा चुनावी अभियानको शंखनाद गर्न लागेका छन । अभियानको पहिलो चरणको शुरुआत उनले समस्तीपुर जिल्लाबाट गर्नेछन्, जहाँ उनले समाजवादी नेता तथा पूर्व मुख्यमन्त्री कर्पूरी ठाकुरको स्मृतिमा कर्पूरी ग्राम पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री मोदीले आज नै समस्तीपुर र बेगुसरायमा दुईवटा ठूलो जनसभालाई सम्बोधन गर्नेछन्। निर्वाचन नजिकिँदै गर्दा यी सभाहरू एनडीए गठबन्धनका लागि निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ। दोस्रो चरणमा, ३० अक्टोबरमा प्रधानमन्त्रीले मुजफ्फरपुर र छपरा जिल्लामा पनि आमसभा गर्ने तयारी छ।

गुरुवारको ‘मेरो बूथ सबैभन्दा मजबूत’ कार्यक्रममा प्रधानमन्त्री मोदीले बिहारका युवा कार्यकर्तासँग भर्चुअल रूपमा संवाद गर्दै विपक्षी दलहरूलाई ‘लठबन्धन’ (लट्ठी गठबन्धन) भनेर व्यङ्ग्य गरे । उनले भने, “जसले आफूलाई गठबन्धन भन्छ, बिहारका जनताले तिनलाई लठबन्धन भन्छन् । ती दलहरूका लागि स्वार्थ नै सर्वोपरि छ, तिनीहरूलाई बिहारका युवाहरूको चिन्ता छैन।”

प्रधानमन्त्रीले थपे, “दशकौँसम्म बिहारका युवा नक्सलवाद र माओवादी आतंकबाट पीडित रहे। एनडीए सरकारले बिहारलाई जंगलराजको अँध्यारोबाट विकासको उज्यालोमा ल्याएको छ। माओवादी आतंकले विद्यालय, कलेज र अस्पतालहरूको विकास रोकिदियो, तर अहिले हामीले ती संरचनाहरू पुनः स्थापित गर्दै उद्योगलाई अघि बढाउने काम गरिरहेका छौं।”

बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको यो दौरा एनडीएका लागि मनोबल बढाउने कदमका रूपमा हेरिएको छ। पार्टी नेतृत्वले यस अभियानमार्फत राज्यभरि विकास र सुशासनको सन्देश जनतामा पु–याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !