जनकपुरधाम, ८ कात्तिक । जनकपुरधामको मुजेजिलयास्थित रहेका श्री राधाकृष्ण सार्वजनिक पुस्तकालय स्वामित्त्वको पोखरीको टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।
पुस्तकालयको स्वामित्त्वमा रहेका देवान पोखरी र पुरण पोखरीको टेन्डर प्रक्रिया मनोमानी ढंगले आह्वान गरेकाले स्थानीयहरुले विरोध जनाएपछि स्थगित गरिएको छ ।
पोखरी टेन्डरको सूचना नटाँसी तथा तोकिएको प्रक्रिया पूरा नगरी र कार्यसमितिका सदस्यहरूलाई समेत जानकारी नदिई टेन्डर आह्वान गरिएको पुस्तकालय स्रोतले जनाएको छ ।
पुस्तकालयका अध्यक्ष राज किशोर यादव र उपाध्यक्ष विजय यादवले आफूअनुकूल मनोमानी ढंगले टेन्डर आह्वानको प्रयास गरेको थियो । समितिका सदस्यहरु र स्थानीयहरुले समयमै थाहापाएपछि टेन्डर प्रक्रिया सहमति नभएसम्म स्थगित गरिएको जनाइएको छ ।
पुस्तकालयका कार्यकारणी सदस्य जहिन्द सहनी, भागचरण यादव र मितलेश कुमार यादव तथा स्थानीय उदय यादव, दिपक राउत, बैधनाथ राउत, बिनय मण्डल लगायतले टेन्डर प्रक्रिया रोक्न माग गरेका थिए । उनीहरूको सामूहिक दबाबपछि अन्ततः टेन्डर प्रक्रिया स्थगित गरिएको छ।
सार्वजनिक संस्था भएरपनि पारदर्शिता र जिम्मेवारीको मापदण्ड पालना नगरिनु अत्यन्त निन्दनीय रहेको छ । उनीहरूले सम्पूर्ण टेन्डर प्रक्रिया पुनः सार्वजनिक रुपमा विधिसम्मत ढंगले आह्वान गर्न माग गरेका छन् ।





