काभ्रेपलाञ्चोक, १४ कात्तिक  । लगातारको वर्षापछि बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा ठूला पहिरो खसेका छन्। साथै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा समेत लेदो र माटो थुप्रिएर सडक अवरुद्ध भएको छ।

अवरोधका कारण पूर्वतर्फ जाने सवारी साधनहरू काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग भित्रका सबै अवरोध हटाउन समय लाग्ने बताउँदै, यात्रु र चालकहरूलाई सडकको अवस्था थाहा पाई मात्र यात्रा गर्न अनुरोध गरेका छन्।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा पहिरो पन्छाउने क्रममा पुनः माथिबाट अर्को पहिरो खसेपछि काम रोकिएको छ। पानी परिरहेकाले जोखिम अझै बढेको बताइएको छ।

प्रहरी र स्थानीय प्रशासनले अहिले सुरक्षा जोखिमका कारण पहिरो पन्छाउने कार्य अस्थायी रूपमा रोकिएको र मौसम स्थिर भएपछि मात्रै सडक खुलाउने कार्य अघि बढाइने जनाएको छ।

प्रमुख बिन्दुहरू :

लगातारको वर्षाले काभ्रे खण्डका दर्जनौँ ठाउँमा पहिरो।

चौकीडाँडा र नाङसाल क्रसर क्षेत्रमा ठूला अवरोध।

पूर्वतर्फका गाडीहरू भकुन्डेमा रोकिएका।

पहिरो पन्छाउने काम जोखिमका कारण रोकिएको।

यात्रुहरूलाई सुरक्षित यात्राको आग्रह।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !