जनकपुरधाम, १६ कात्तिक । धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।
विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजार नजिकै भएको सो दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
उनीहरु एउटै परिवारका सदस्य रहेको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए। दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते भएका छन्।
घाइते दुवै जनाको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।





