काठमाडौं, १८ कात्तिक । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्न लागेको छ । बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्ने मुख्य एजेन्डा रहनेछ।
महाधिवेशन २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि त्यसपछि गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति नजुट्दा बैठकहरू स्थगित हुँदै आएका थिए। सहमतिको प्रयासस्वरूप गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठकहरू समेत अन्तिम क्षणमा स्थगित भएका थिए।
आजको बैठकमा महामन्त्री गगन कुमार थापा नेतृत्वको पक्ष र सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष दुवैतर्फबाट अलग–अलग कार्यतालिका पेस गर्ने तयारी भएको छ।
संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने निर्णय गर्दै सो प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेको हो।
त्यसैगरी, संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन वा वैकल्पिक रूपमा विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन्। उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।





