काठमाडौं, २८ कात्तिक । मधेश प्रदेशसभाका पाँच जना सांसदले आफूहरूलाई पदमुक्त गरिएको सम्बन्धमा हाजिरी विवरण र सम्पूर्ण कारबाही सम्बन्धी कागजात उपलब्ध गराउन माग गरेका छन्।
सभामुख रामचन्द्र मण्डलले आफ्नो विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावपछि लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै हिजो ५ सांसदलाई पदमुक्त गरेका थिए। तर आज उपसभामुख बबिताकुमारी राउतले उक्त निर्णय बदर गर्दै नयाँ सूचना जारी गरेपछि विषय थप जटिल बनेको छ।
कारबाहीमा परेका सांसदहरू जसपाका मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन सा कलवार, सारदा संकर प्रसाद कलवार, नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंहले सचिवालयमा निवेदन दर्ता गर्दै आफ्नो हाजिरी अभिलेख, निर्णय कसले लियो, कुन आधारमा लियो भन्ने सबै कागजातको प्रमाणित नक्कल माग गरेका छन्।
उनीहरूले दिएको निवेदनमा भनिएको छ , “सामाजिक सञ्जालमार्फत मात्र १० पटकको निरन्तर अनुपस्थितिको आधारमा कारबाही भएको जानकारी आज प्राप्त भएको हुँदा, सत्य–तथ्य पुष्टि गर्न आधिकारिक हाजिरी र अभिलेख उपलब्ध गराउन अनुरोध गर्दछौँ।”
प्रदेशसभाभित्र सभामुख–उपसभामुखबीचको निर्णयविरोध र सत्ता–प्रतिपक्षबीचको राजनीतिक द्वन्द्व तीब्र बन्दै गएको बेला सांसदहरूद्वारा उठाइएको यो कदमले विवाद झन् गहिरिन सक्ने देखिन्छ।





