भागचरण यादव

जनकपुरधाम १९ मंसिर । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था बमोजिम यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मधेस प्रदेशका प्रदेश प्रमुख माननीय सुरेन्द्र लाभ कर्णले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको आधिकारिक पत्रमा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त भएकोमा हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै सो नियुक्तिको जानकारी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेश सरकार तथा प्रदेश सभा सचिवालयलाई पनि पठाइएको जनाइएको छ।

यसअघि प्रदेश प्रमुखको कार्यालयले आज शुक्रबार साँझ ५ बजेसम्म प्रदेश सभामा बहुमत समर्थन जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेको थियो। सोही आह्वानअनुसार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) सहित ६ दलको गठबन्धनको समर्थनमा माननीय यादवले मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए।

६ दलीय गठबन्धनको तर्फबाट ७७ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित यादवलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत गरिएको थियो। बहुमत सदस्यको समर्थन पुष्टि भएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने र प्रदेश सरकार सक्रिय रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !