जनकपुरधाम, २६ मंसिर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष तथा सामाजिक अगुवा जयकुमार यादव प्रतिष्ठित ‘डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार–२०२५’ बाट सम्मानित भएका छन्। भारतीय दलित साहित्य एकेडमी नया दिल्लीले सामाजिक सेवा तथा दलित, विपन्न र पिछडिएका समुदायको उत्थानका क्षेत्रमा गरेको योगदानका आधारमा उनलाई यो पुरस्कार प्रदान गरेको हो।
एकेडमीको ४१औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज भारतको दिल्लीस्थित पञ्चशील आश्रम, झरोदा गाउँमा आयोजित समारोहमा प्रमुख अतिथिले यादवलाई डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेका छन ।
यादवले आफनो पालिकाको दलित तथा पिछडिएको समुदायको हितमा निरन्तर गरेको सामाजिक सेवा, नेतृत्व र जनकल्याणका गतिविधिले विशेष प्रभाव पारेको जनाएको छ। भारत तथा विदेशमा रहेका दलित समुदायको उत्थानमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गरिने यस पुरस्कारलाई दक्षिण एशियाली परिवेशमा निकै महत्वपूर्ण मानिन्छ।





