काठमाडौँ , ९ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दामा प्रमुख कसुरदारको रुपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक सञ्जयकुमार साहलाई आरोपी बनाइएको छ।

आयोगको अनुसन्धानअनुसार, आर्थिक वर्ष २०७९\८० मा बहुदरमाई नगरपालिकाले वडा नम्बर २ को बैरिया प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत तथा कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार टेण्डरको सूचना राष्ट्रिय वा स्थानीय पत्रिकामा प्रकाशित गर्नुपर्ने भए पनि आरोपीहरूले मिलेमतो गरी सूचना लुकाएका थिए।

अख्तियारको अनुसन्धानले देखाएको छ कि सूचना प्रकाशनको सट्टा अभिलेखका लागि मात्र स्थानीय पत्रिकामा नक्कली सूचना छापिएको थियो। प्रेस काउन्सिल नेपालको अभिलेख प्रणालीमा उक्त मितिको पत्रिकाको हार्डकपी र पीडीएफमा कुनै पनि बोलपत्रको सूचना अवस्थित थिएन।

 

पत्रिकामा सूचना नै नछापी छापिएको देखाएर नक्कली बिल भर्नु र ६५ हजार रुपैयाँ भुक्तानी गर्नु भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत भएको ठहर गर्दै अख्तियारले तीनै जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। तीनैजनाविरूद्ध जनही ६५ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो मागदाबी गरिएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत मुस्तफा र सहलेखापाल साहलाई मुख्य कसुरदार र प्रकाशक(संपादक सञ्जयकुमार साहलाई मतियारको रूपमा कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !