काठमाडौँ , १० पुष । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार चयन र आन्तरिक तयारीमा जुटेका छन्। तर, मधेसकेन्द्रित दलहरू भने आफ्ना सिट जोगाउन र नयाँ सिट हात पार्न ठूला दलको सहयोगबिनै असम्भव अवस्थामा पुगेका छन्।
हाल राष्ट्रिय सभामा मधेसकेन्द्रित दलका चार सदस्य छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट शेखर सिंह तथा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मोहम्मद खालिद, मृगेन्द्रकुमार सिंह यादव र पूजा चौधरी सदस्य छन्। उनीहरूको पदावधि यही माघमा सकिँदै छ, जसका कारण यी दलहरू सिट जोगाउने रणनीतिमा केन्द्रित भएका छन्।
यसपटक डा। सीके राउत नेतृत्वको जनमत पार्टीले पनि राष्ट्रिय सभामा उम्मेदवारी दिने तयारी गरेसँगै प्रतिस्पर्धा थप चर्किएको छ। तर, मतभारको अवस्थाले मधेसकेन्द्रित दलहरूलाई एक्लै चुनाव जित्न असहज बनाएको छ। जसपा नेपाल, लोसपा नेपाल र जनमत पार्टीको मतभार कुनै पनि प्रदेशमा निर्णायक अवस्थामा छैन।
जसपा नेपालका महासचिव मोहम्मद लालबाबु राउतले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीभित्र छलफल चलिरहेको बताए। उनका अनुसार पार्टी बैठकपछि ठोस रणनीति तय गरिनेछ। हाल जसपा नेपाल राष्ट्रिय सभामा रहेका आफ्ना तीन सिट जोगाउने प्रयासमा छ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले पार्टीले यसपटक अनिवार्य रूपमा उम्मेदवारी दिने स्पष्ट पारे। उनले मधेसवादी दलसँगै कांग्रेस, एमाले वा नेकपामध्ये कुनै एकसँग तालमेलको सम्भावना रहेको बताए।
लोसपा नेपालका महासचिव मनिष मिश्रले पनि राष्ट्रिय सभा निर्वाचनमा एक्लै अघि बढ्न नसकिने भन्दै संघीय लोकतान्त्रिक मोर्चामार्फत साझा निर्णय गरेर ठूला दलसँग सहकार्य गर्ने रणनीति रहेको बताए।
राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रिय सभा निर्वाचनमा मधेसकेन्द्रित दलहरू कांग्रेस, एमाले र नेकपाको समर्थनबिनै सिट सुरक्षित गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसले आगामी दिनमा मधेसवादी राजनीतिमा नयाँ समीकरण र गठबन्धनको सम्भावना बढाएको छ।





