जनकपुरधाम १३ पुष। काठमाडौँमा सम्पन्न दुवै पार्टीका अध्यक्षहरू उपेन्द्र यादव र महन्थ ठाकुरसहितका शीर्ष नेताहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति गम्भीर समीक्षा तथा विश्लेषण गर्दै एकीकरणको निष्कर्षमा पुगेको हो।
बैठकले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै समावेशी लोकतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र समानताको पक्षमा संयुक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ। मधेस आन्दोलनबाट उठेका एजेण्डाहरूको संरक्षण तथा कार्यान्वयन गर्दै न्यायपूर्ण समाज निर्माणका लागि दुवै दलबीच एकता अपरिहार्य भएको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण तथा जनताको अपेक्षा पूरा गर्न एकीकृत पार्टीमार्फत प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि दुवै दलले व्यक्त गरेका छन्।
एकीकरणसम्बन्धी निर्णयमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।






