रौतहट , १० माघ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको चन्द्रपुर नगरपालिका को प्रशासनिक भवन पुनर्निर्माण हुने भएको छ। गत भदौ २४ गतेको आन्दोलनमा आगलागीबाट ध्वस्त भएको भवनको प्राविधिक अध्ययन कार्य अहिले अघि बढिरहेको छ।

शुक्रबार पुल्चोक इन्जिनियरिङ् क्याम्पस, ललितपुर बाट आएको प्राविधिक टोलीले भवनको संरचनात्मक अवस्थाको स्थलगत निरीक्षण गरेको छ। टोलीमा क्याम्पसका सह–प्राध्यापक डा. क्षितिजचरण श्रेष्ठ, उप–प्राध्यापक इन्जिनियर अरुण पौडेल, कबिन लामिछाने र अरुण सुवेदी सहभागी थिए।

निरीक्षणको क्रममा आगलागीबाट प्रभावित कङ्क्रिट, माटो र खरानीका नमुना सङ्कलन गरी प्राविधिक परीक्षण गरिनेछ। परीक्षणको प्रतिवेदन तयार भएपछि मात्रै भवन मर्मत वा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने प्राविधिक टोलीले जानकारी दिएको छ। डा। श्रेष्ठका अनुसार परीक्षण प्रतिवेदन दस दिनभित्र तयार हुनेछ र त्यसपछि कार्य सुरु हुने छ।

नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले भवनसँगै सवारी साधन र अन्य उपकरणसमेत क्षतिग्रस्त भएको र करिब सात करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिनुभयो। उहाँले प्राविधिक सुझाव अनुसार पुनर्निर्माण कार्य यथाशीघ्र अघि बढाइने पनि स्पष्ट पार्नुभयो।

 

स्थानीय प्रशासनको यो पहलले नगरपालिकाको सञ्चालन र जनसेवा पुनः व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। नागरिकहरूले पनि पुनर्निर्माण कार्य चाँडो सुरु हुने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !