झापा , १२ माद्य । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनका बेला सार्वजनिक रूपमा देखिएकी थिइनन् सविना शाह। त्यतिबेला उनका पति बालेन्द्र शाह (बालेन) ले एक्लै चुनावी अभियान चलाएका थिए। तर यसपटक दृश्य फरक छ। प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार बनेका बालेन्द्र शाहका लागि उनकी पत्नी सविना शाह आफैं घरदैलो अभियानमा सक्रिय भएकी छन्।
६ माघमा उम्मेदवारी दर्ता गरेपछि बालेन्द्र शाह दुई दिनमै झापा छाडेर अन्य जिल्लातर्फ लागेका थिए। सोमबार उनी नेपालगञ्ज पुगेका छन्। झापामा बालेन स्वयं उपस्थित नभए पनि उनका समर्थक, शुभेच्छुक र पार्टी कार्यकर्ताहरूले प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन्। बालेनले परम्परागत घरदैलो अभियान नगरे पनि जहाँ पुगे, त्यहीँ समर्थकसँग भेटघाट गर्दै आएका छन्।
यहीबीच सोमबारदेखि सविना शाह भने झापाका गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेट गर्दै श्रीमानका लागि भोट माग्न थालेकी छन्। बिहानैदेखि मतदाताको घरदैलोमा पुगेर उनले बालेन्द्र शाहलाई मतदान गर्न आग्रह गरिरहेकी छन्। बालेनको सचिवालयले सार्वजनिक गरेका तस्बिरहरूमा सविना हात जोडेर स्थानीयसँग भोट मागिरहेको देख्न सकिन्छ।
सोमबारको घरदैलो अभियान दमक–९ स्थित उराउ बस्तीबाट सुरु भई पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक हुँदै बुद्ध चोकसम्म पुगेको थियो। सविनाले स्थानीय मतदातासँग बालेन्द्र शाहलाई जिताएर नेतृत्वमा पुर्याउन सहयोग गर्न आग्रह गरिरहेको सचिवालयका एक सदस्यले जानकारी दिए।
काठमाडौं महानगरको मेयर चुनावमा सविना एक दिन पनि भोट माग्न ननिस्किएको कुरा धेरैले सम्झिन्छन्। कतिपयलाई त बालेन विवाहित भएको जानकारी पनि धेरैपछि मात्र भएको थियो। तर यसपटक भने सविनाको सक्रियता विशेष मानिएको छ।
सविनाको माइती मोरङको उर्लावारीमा पर्छ भने मावल झापा–५ मै रहेकाले उनी सो क्षेत्रका स्थानीयसँग परिचित छिन्। आफ्नै क्षेत्रबाट श्रीमान उम्मेदवार बनेपछि सहयोग गर्न उनी प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएकी हुन्। यसले झापा–५ को चुनावी माहोललाई अझ चासोपूर्ण बनाएको छ।





