काठमाडौं , १२ माद्य । मुलुकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी तीव्र बन्दै गएको छ। सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ भने निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ। देशभर ३ हजार ४ सय ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसका कारण राजनीतिक चहलपहल ह्वात्तै बढेको छ।

उम्मेदवार र दलका नेताहरू गाउँ–गाउँ, टोल–टोल र घर–घरमा मत माग्दै व्यस्त छन्। सामाजिक सञ्जालदेखि चोक–चौराहासम्म चुनावी बहस चलिरहेको छ। नयाँ र वैकल्पिक राजनीतिक शक्ति तथा युवा नेतृत्व स्थापित गर्ने नारासहित दलहरू मैदानमा उत्रिएका छन्। केही दलले त निर्वाचनअघि नै प्रधानमन्त्रीको नाम घोषणा गर्दै नयाँ अभ्यास सुरु गरेका छन्।

तर, यो चुनावी रौनकसँगै अर्को यथार्थ पनि उत्तिकै देखिन्छ—युवा पलायन। निर्वाचनको माहोल बढ्दै जाँदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरूको लाम घटेको छैन। एकातिर नेताहरू प्रचारप्रसारका लागि आन्तरिक उडानतर्फ दौडिरहेका छन् भने अर्कोतिर युवाहरू राहदानी बोकेर विदेश उड्न बाध्य छन्।

विमानस्थलमा भेटिएका युवाहरूले भोट हाल्न चाहँदाचाहँदै पनि रोजगारीको अभावले देश छाड्नुपरेको बताएका छन्। ‘भोट हालेर घरको चुल्हो बल्दैन,’ भन्ने उनीहरूको साझा गुनासो छ। पटक–पटक निर्वाचनमा मतदान गरे पनि युवाको जीवनमा ठोस परिवर्तन नआएकाले निराशा बढेको उनीहरूको भनाइ छ।

 

वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो ६ महिनामै ५ लाख ९० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली विदेशिँदैछन्। यसले देशको अर्थतन्त्र विप्रेषणमा निर्भर बनाइरहेको छ भने गाउँ–समाज युवाविहीन बन्दै गएको छ।

चुनावको चर्को चर्चा भइरहँदा पनि युवाहरूको रोजगारी र भविष्यप्रतिको अनिश्चितता यथावत् छ। अबको निर्वाचनबाट आउने नेतृत्वले युवालाई स्वदेशमै अवसर दिने वातावरण बनाउन नसके चुनावी नारामै सीमित हुने चिन्ता बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !