सप्तरी, २४ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ्गले देशलाई सहि ट्रयाकमा ल्याउन सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनु जरुरी रहेको बताएका छन ।
चुनावी प्रचार प्रसार तथा आफ्ना स्थानीय नेता/कार्यकर्ता संग भेटघाट गर्ने क्रममा सप्तरी आईपुगेका उनले शुक्रवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन ।
पार्टीका तर्फबाट सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधीसभा सदस्यका उम्मेदवारसहित पत्रकार सम्मेलनमा उपस्थित भएका उनले मुलुक समृद्धिका लागी देश भित्र धेरै थोक भएपनि सहि ब्यक्ती हुन नसक्दा त्यसको उचित प्रयोग हुन नसकेको जिकिर गरे ।
उनले श्रोत, साधन र पुंजीको सहि प्रयोग तथा नयाँ प्रविधीमा अभ्यस्त हुन नसक्दा पनी देश पछाडी परेको जिकिर गरे ।
उनले ८३ हजार मेघावाट विधुत उत्पादनको सम्भावना रहेको भएपनि त्यस अनूरुपका कार्य हुन नसकेको भन्दै आफुहरु सरकारमा आए सो लक्ष्य प्राप्त गरी बचेको विद्युत उत्पादन भारत र बंगलादेशमा निर्यात गर्दै प्राप्त रकमबाट किसानका लागी विशेष राहत प्याकेज ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे ।
उनले आफ्नो देशमा प्रयोग गरि बचेका विद्युत उत्न्पादन निर्यात गर्दा प्राप्त रकमबाट नहरदेखी खेत खेतमा सिंचाईका लागी पानि तथा रसायनिक मल कारखाना समेत स्थापना गर्ने बताए । किसानलाई सिंचाईका लागी आवश्यक पर्ने विद्युत महशुल पनि निःशुल्क गरिने उनको भनाई छ । उनले देशमा जल विद्युतका साथै पर्यटनको सम्भावना उत्तिकै रहेको भन्दै यसका लागी आफुले विशेष योजना कार्यान्वयनमा ल्याउने बताए ।
उनले मुलुकको विकासका लागि १० वर्षे योजना समेत सार्वजनिक गरे । नेपालमा उज्यालो बनाउनका लागी विद्युतको विकास संगै अन्य पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको गुणस्तर बढोत्तरी, भ्रष्टाचार मुक्त न्यायिक समाजको विकास जरुरी रहेको र त्यसका लागी काम गर्ने भन्दै राजनीतिक क्षेत्रमा सहि ब्यक्तीको चयन भएमात्र त्यो सम्भव हुने बताए ।
उनले जेनजी आन्दोलनले उठाएका जायज माग आफ्नो पार्टीले सम्बोधन गर्ने बताए । राष्ट्रिय परिवर्तन पार्टी संग तालमेल गरी चुनावी मैदानमा होमिएको भन्दै उनले मुलुकले चाहेको नयाँ शक्ती आफुहरु नै भएको दाबी गरे । जनताले देशमा एउटा नयाँ शक्तीशाली पार्टी गठन होस भनेर चाहेको छ, उनले भने–त्यो नयाँ शक्ती र पार्टी हामी हौं, बाकि सबै पुराना हुन ।”
उनले जनताको भावना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसंग सहकार्य गर्ने इमान्दार प्रयास भएपनि हाम्रो सदासयतालाई कमजोरी ठान्दा तालमेल हुन नसकेको स्पष्ट पारे ।
रास्वपा संग भएको सहमती कार्यान्वयन होला भनेर १२ दिन सम्म प्रतिक्षा ग¥यौं, उनले भने– तर कार्यान्वयन हुन नसक्दा सहकार्य हुन नसकेको उनले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीका पूर्व अध्यक्ष गुजाई दास सो पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए । उनलाई फुलमाला र दोसल्ला ओढाई अध्यक्ष घिसिङ्गले स्वागत गरेका थिए । पत्रकार सम्मेलन पार्टीका जिल्ला संयोजक डा.सुर्या यादवको अध्यक्षतामा आयोजना गरिएको थियो ।





