काठमाडौँ, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवलाई आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा यादवले सडक ढलान योजना सञ्चालन गर्नका लागि सम्झौता भई सोही बमोजिम कार्य सम्पन्न भएपछि भुक्तानी दिनका लागि सेवाग्राहीसँग ७२ हजार रुपैयाँ माग गरी लिएको भएको आयोगको दाबी छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ७२ हजार रुपैयाँ नै बिगो कायम गरिएको छ।
आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।






