सर्लाही, ७ असार । सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुरमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ । गएराति स्थानीय भुइल रायका ५२ वर्षीय छोरा होशनारायण राय यादवको हत्या भएको हो ।
यादव आफ्ना १४ वर्षीय कान्छा छोरा राजकपुरसँग भैँसी गोठमा सुतिरहेको अवस्थामा राति करिब १२ बजे अज्ञात व्यक्तिले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका यादव आफन्तलाई जानकारी दिन घरतर्फ गएका थिए । घटनापछि परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीका अनुसार यादवको शव हाल नगर अस्पताल बरहथवामा राखिएको छ । पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





