लखनऊ,  ८ असार । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनऊस्थित अलीगञ्ज सेक्टर–डी क्षेत्रमा रहेको एक बहुमञ्जिला भवनमा सोमबार भीषण आगलागी हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये केही विद्यार्थीसमेत रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आगलागीपछि भवनमा सञ्चालन भइरहेको कोचिङ सेन्टरमा रहेका विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीहरूले भवनको छतबाट हाम फालेका थिए । घटनाका क्रममा एक विद्यार्थीले पहिलो तलाबाट हाम फाल्दा गम्भीर घाइते भएको बताइएको छ।

आगलागी भएको भवनको बेसमेन्ट, भुइँतला र पहिलो तलामा पेट शप तथा क्लिनिक सञ्चालनमा रहेका थिए । भवनको दोस्रो तलामा ‘लर्निङ स्पेस’ नामक कोचिङ सेन्टर र ‘हेड हपर स्टुडियो’ सञ्चालनमा रहेको थियो । जहाँ थ्रीडी आर्ट प्रोडक्सन तथा गेम एसेट आउटसोर्सिङसम्बन्धी कार्य हुँदै आएको जनाइएको छ । घटनापछि आफ्ना सन्तानको खोजीमा रहेका अभिभावकहरू चिन्तित बनेका छन् ।

आलमबाग निवासी पारिजोत सिंहले आगलागीका बेला आफ्ना छोराले फोन गरेर आफूलाई बचाउन आग्रह गरेको बताए । “मेरो छोराले फोन गरेर ‘बुबा, आगो लागेको छ, मलाई बचाइदिनुहोस्’ भनेको थियो । त्यसपछि हामी घटनास्थलमा पुग्यौँ, तर प्रहरी अधिकारीहरूले भित्र जान दिएनन् । अहिले पनि छोराको कुनै जानकारी प्राप्त भएको छैन,” उनले भने ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उद्धार तथा राहत कार्य जारी रहेको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

यस घटनाले स्थानीय बासिन्दा तथा अभिभावकहरूमा त्रास फैलिएको छ। अधिकारीहरूले मृतक तथा बेपत्ता व्यक्तिहरूको पहिचान गर्ने कार्य जारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !