एजेन्सी ।  भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४ पुगेको छ । १ हजारभन्दा बढी घाइते भएका छन् । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रलाई सम्बोधन गर्दै यो जानकारी दिएकी छन् ।

सुरुमा ३२ जनाको मृत्यु र ७०० घाइतेको तथ्यांक सार्वजनिक गरिए पनि उद्धार कार्य जारी रहँदा मृतक संख्या बढेर १६४ पुगेको रोयटर्सले जनाएको छ । घाइते संख्या पनि ९७१ पुगेको बताइएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणले मृतक संख्या हजारौँ पुग्न सक्ने चेतावनी दिएको छ ।

याराकुई क्षेत्रमा केन्द्रबिन्दु बनाएर ७.२ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । यसको केही सेकेन्डपछि दोस्रो र ठूलो ७.५ म्याग्निच्युडको भूकम्पले देशलाई हल्लायो । दुवै भूकम्प एक मिनेटभन्दा कमको अन्तरमा गएका थिए ।

राजधानी काराकास र आसपासका क्षेत्रमा धेरै भवनहरू भत्किएका छन् । ला गुएरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी गरिरहेका छन्।

भूकम्पपछि दर्जनौं पराकम्पनहरू गएका छन् । भेनेजुएलाले भूकम्पपछि आपतकालीन अवस्था घोषणा गरेको छ । देशले पहिले नै राजनीतिक र आर्थिक संकट सामना गरिरहेको अवस्थामा यो विपद्ले थप चुनौती थपेको छ। अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपिल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !