काठमाडौँ, २ साउन। फिफा विश्वकप–२०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड आज भिड्दैछन् । सेमिफाइनलमा पराजित भएपछि दुवै टोलीले अब प्रतियोगिताको अन्त्य जितसहित गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्य राखेका छन् ।
सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा थियो । तर सेमिफाइनलमा स्पेनसँग २-० गोलले पराजित भएपछि फ्रान्सको उपाधि यात्रा रोकिएको थियो ।
यता इंग्ल्याण्ड पनि अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा अन्तिम १० मिनेटसम्म अग्रता जोगाइरहेको अवस्थामा पुनरागमन गरेको अर्जेन्टिनासँग पराजित हुँदै फाइनल पुग्ने अवसरबाट वञ्चित भएको थियो ।
अब दुवै टोलीले आज मियामीमा तेस्रो स्थानको लागि हुने खेलमा प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नेछन् । आइतबार हुने विश्वकपको फाइनलमा भने स्पेन र अर्जेन्टिना उपाधिका लागि भिड्नेछन् ।
फ्रान्स र इंग्ल्याण्डबीच पछिल्लोपटक विश्वकपमा सन् २०२२ को कतार विश्वकपको क्वाटरफाइनलमा भेट भएको थियो । उक्त खेलमा फ्रान्स २–१ ले विजयी भएको थियो । त्यस खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले एक पेनाल्टी गोल गरेका थिए भने अर्को पेनाल्टी खेर फालेका थिए ।
आजको खेल फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि पनि विशेष रहेको छ । विश्वकप–२०२६ मा आठ गोल गरिसकेका एम्बाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरीमा छन् । साथै, विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा पनि उनी मेस्सीको निकै नजिक रहेका छन् ।
तेस्रो स्थानको खेलले उपाधि निर्धारण नगरे पनि दुवै टोलीका लागि विश्वकप यात्रा जितका साथ टुंग्याउने अवसरका रूपमा हेरिएको छ ।





