मोरङ, ९ साउन । मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको हत्या भएको छ । सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया कायानत खातुनको हत्या भएको हो । उनी जफारुल मियाँकी छोरी हुन्। घरबाट हराएको केही समयपछि नजिकै रहेको घन्सीबारीमा बीभत्स अवस्थामा उनको शव भेटिएको हो।

मोरङका प्रहरी प्रमुख उपरीक्षक कवित कटवालका अनुसार शुक्रबार अपराह्न करिब ४ बजेदेखि बालिका हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको घारीमा शुक्रबार साँझ करिब ७:३० बजेतिर उनको शव फेला परेको हो। प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। शव फेला पर्दा शरीरको माथिल्लो भागमा कपडा थिएन भने तल्लो भागमा भने कपडा लगाएकै अवस्थामा थियो। प्रहरीका अनुसार बालिका घरबाट हराउँदा पनि माथिल्लो भागमा कपडा नलगाएको जानकारी आएको छ।

घटनास्थलको अवस्था र प्रारम्भिक अनुसन्धानका आधारमा तत्काल बलात्कार भएको संकेत नदेखिएको एसपी कटवालले बताए। उनका अनुसार घटनाको प्रकृति हेर्दा अभिभावकसँगको कुनै पुरानो रिसइबीका कारण बालिकाको हत्या गरेर शव घारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको पुष्टि हुन बाँकी रहेको उनले बताए।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई शुक्रबार राति ११:२० बजे पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। एसपी कटवालका अनुसार हत्याको कारण, घटनामा संलग्न व्यक्ति र घटनाको वास्तविक परिस्थिति अझै खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र घटनाको कारण र दोषीका बारेमा यकिन गर्न सकिने उनले बताए।

घटनाको विस्तृत अनुसन्धान तथा संलग्न व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा प्रहरी टोली परिचालित छ। टोलीले घटनास्थलको सूक्ष्म अध्ययन, स्थानीयसँग सोधपुछ तथा अन्य प्रमाण संकलन गर्दै अनुसन्धानलाई अघि बढाइरहेको एसपी कटवालले बताए।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !