जनकपुरधाम, साउन १२ । धनुषाको विदेह नगरपालिका–५ का पूर्ववडाध्यक्ष विजयकुमार यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार भारत सरकारको सहयोगमा निःशुल्क प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सीमा दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरिएको थियो। एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानी स्थानीय तहको सरकारी कोषमा जम्मा नगरी निजी रूपमा भाडा उठाइएको आरोप छ।

अनुसन्धानका क्रममा उक्त एम्बुलेन्स करिब ३ वर्ष ५ महिना सञ्चालन गरी ३०,१८५ किलोमिटर गुडाइएको र नेपाल रेडक्रस सोसाइटी, धनुषाले निर्धारण गरेको दररेटअनुसार  १५ लाख ९ हजार २५० बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा हानिनोक्सानी भएको अख्तियारले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर कायम गरी १५,०९,२५० बिगो, कैद तथा जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

यस्तै, अनुसन्धान अवधिमा प्रतिवादीले ३ लाख ८१ हजार ५९७ दाखिला गरेको देखिएकाले उक्त रकम कट्टा गरी बाँकी रु. ११ लाख २७ हजार ६५३ असुलउपर गराउन पनि माग गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् !
सम्बन्धित खवर
ताजा समाचार !

धेरै पढिएको !