वीरगञ्ज, १२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले राजीनामा दिएका छन् ।
चिकित्सकमाथिको आक्रमण र अस्पताल तोडफोडको विषयलाई लिएर अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका हुन् ।
गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सहरूले आन्दोलन गर्दै आएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द छ ।
स्वास्थ्य मन्त्रालयले दोषीमाथि कारबाही हुने भन्दै ओपीडी सञ्चालन गर्न चिकित्सकहरूलाई आग्रह गरे पनि उनीहरूले सेवा सञ्चालन गरेका छैनन् ।
आज नारायणी अस्पतालका चिकित्सकले राजीनामा दिए, अझै पनि माग पुरा नभए भोलि देशैभरका चिकित्सकहरुले राजीनामा दिने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।
गत शनिबार हृदयघात भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए भने चिकित्सकमाथि हातपात गरेका थिए ।





