सुनसरी, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनामा पीडित पक्ष र सरकारबीच ७ बुँदे सम्झौता भएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङबीच गएराति सम्झौता भएको हो।
सम्झौता पत्रमा गृहमन्त्री गुरुङ र ओमप्रकाशका अभिभावक कृष्णदेव र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश र जयप्रकाशको मृत्यु भएको थियो।
पीडित पक्षसँग सम्झौता गर्नुअघि गृहमन्त्री गुरुङ मृतकद्वयकाे घरमै पुगेका थिए। उनले घाइतेहरूलाई पनि अस्पतालमै पुगेर भेटेका छन्।
७ बुँदे सम्झौता:
१. मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।
२. २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइनेछ ।
३. देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ ।
४. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ ।
५. घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
६. मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिनेछ ।
७. साउन १५ गते दिउँसो २ बजे मृतकको अन्त्येष्टि गरिने ।





